प्रतिबन्धित लागूऔषध :

सशस्त्र प्रहरी बल पर्साद्धारा २ सय १३ किलो गाँजा बरामद

बुधबार, मंसिर १०, २०८२

वीरगञ्ज । सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले विशेष सूचनाको आधारमा छापा मार्दै २१३ किलो (दुई क्विन्टल १३ किलो) प्रतिबन्धित लागूऔषध गाँजा बरामद गरेको छ ।

मङ्गलवार विन्दवासिनी गाउँपालिका – ५ बटसौरास्थित खेतीयोग्य क्षेत्रमा परालको कुन्यूभित्र लुकाइछिपाइ राखिएको अवस्थामा उक्त गाँजा फेला परेको हो । २० वटा छुट्टाछुट्टै पोका (बोरामा प्याक) मा राखिएको गाँजा सशस्त्र प्रहरी नायब निरीक्षक (सप्रनि) दीपेन्द्र प्रकाश मल्लको कमान्डमा खटिएको टोलीले बरामद गरेको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टरका गणपति सशस्त्र प्रहरी उपरीक्षक (सप्रउ) पूर्णचन्द्र भट्टको नेतृत्वमा सशस्त्र प्रहरी बल पर्साले सीमावर्ती क्षेत्रमा लागूऔषध ओसारपसार तथा चोरीतस्करी नियन्त्रणका लागि सूचना-आधारित कारबाहीहरूलाई तीव्र पारेको छ ।

लागूऔषध दुर्व्यसनले समाजमा पार्ने दूरगामी नकारात्मक प्रभावलाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निर्देशानुसार पर्सा जिल्लामा लागूऔषध नियन्त्रण अभियानलाई प्रभावकारी बनाइएको गणले जनाएको छ ।

बरामद गाँजालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय पर्सा र लागूऔषध नियन्त्रण ब्युरो वीरगञ्जलाई बुझाउने प्रक्रिया भइरहेको सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योन्जनले जानकारी दिए ।

प्रकाशित मिति: बुधबार, मंसिर १०, २०८२  १०:२१
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय