वीरगञ्ज। नेपाल–भारत सीमावर्ती जिल्ला समन्वय समिति (BDCC) को बैठक भारतको रक्सौलस्थित इन्टिग्रेटेड चेक पोस्ट (ICP) मा सम्पन्न भएको छ।
बुधबार सम्पन्न बैठकमा नेपालको पर्सा, बारा, चितवन, नवलपरासी (बर्दघाट सुस्ता पूर्व) र नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सुरक्षा निकायका प्रमुखहरूको सहभागिता थियो।
भारततर्फ पूर्वी चम्पारण र पश्चिम चम्पारण जिल्लाका जिल्लाधिकारी (DM) तथा सुरक्षा निकायका पदाधिकारीहरूको समेत उपस्थिति रहेको थियो।
बैठकमा नेपाल–भारत सीमासँग सम्बन्धित विभिन्न विषयमा छलफल गरिएको थियो।
सीमा क्षेत्रमा शान्ति तथा सुरक्षा कायम गर्ने, अन्तरदेशीय अपराध नियन्त्रण गर्ने तथा अवैध गतिविधिमाथि निगरानी र नियन्त्रणलाई प्रभावकारी बनाउने विषयलाई प्राथमिकता दिइएको थियो।
त्यस्तै, मानव तस्करी तथा लागूऔषधको ओसारपसार नियन्त्रण, सीमा क्षेत्रमा हुने अन्य गैरकानुनी गतिविधि नियन्त्रण तथा आवश्यक सूचना समयमै आदान–प्रदान गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।
बैठकमा दुवै देशका सीमावर्ती जिल्लाका प्रशासन तथा सुरक्षा निकायबीचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा पनि जोड दिइएको थियो।
नेपाल–भारत सीमामा देखिने सुरक्षा चुनौतीलाई संयुक्त समन्वयमार्फत सम्बोधन गर्दै सीमावर्ती क्षेत्रमा शान्ति, सुरक्षा तथा आपसी सहयोगलाई थप मजबुत बनाउने उद्देश्यले BDCC बैठक आयोजना हुँदै आएको छ।





