वीरगञ्ज । बडादसैँको दुर्गा पक्षअन्तर्गत आश्विन शुक्ल सप्तमी अर्थात् फूलपातीका अवसरमा वीरगञ्जस्थित भगवती श्री राधेमाई मन्दिरमा परम्परागत धार्मिक विधिअनुसार फूलपाती भित्र्याइएको छ।
मन्दिरको पवित्र प्राङ्गणमा आयोजित विशेष धार्मिक अनुष्ठानमा पूर्वमन्त्री प्रदीप यादवले भगवती श्री राधेमाईको डोलीसहित हजारौँ श्रद्धालु भक्तजनको सहभागितामा शास्त्रीय विधिपूर्वक शुभ साइतको प्रतीक पवित्र फूलपाती भित्र्याएका हुन्।
फूलपाती भित्र्याउने कार्यक्रममा भक्तजनहरूको उल्लेख्य सहभागिता रहेको थियो। बडादसैँको महत्वपूर्ण दिनका रूपमा मनाइने फूलपातीले धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण र निरन्तरतामा विशेष महत्व राख्दै आएको छ।
यस अवसरमा पूर्वमन्त्री यादवले भगवती श्री राधेमाईसँग सम्पूर्ण देशवासीको सुख, शान्ति, सु-स्वास्थ्य, समृद्धि तथा उत्तरोत्तर प्रगतिको कामना गरेका छन्।
साथै, माता राधेमाईको असीम कृपा सबैमा रहिरहोस् र सम्पूर्ण भक्तजनहरूको मनोकामना पूरा होऊन् भन्ने प्रार्थना गर्दै उनले नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा फूलपातीको हार्दिक मंगलमय शुभकामना व्यक्त गरेका छन्।


