वीरगञ्ज।शुभ दीपावली तथा छठ पर्वको अवसरमा वीरगञ्ज महानगरपालिका वडा नं. १६ स्थित इनर्वामा आयोजित विराट कुस्ती (दंगल) प्रतियोगिताको उद्घाटन पूर्वमन्त्री प्रदीप यादवले गरेका छन्।
इनर्वा महावीर मन्दिर संरक्षण समाज, पर्साद्वारा आयोजित उक्त प्रतियोगिताको उद्घाटन गर्दै पूर्वमन्त्री यादवले कुस्ती केवल शारीरिक बल प्रदर्शन गर्ने खेल मात्र नभई अनुशासन, साहस, धैर्य र आत्मविश्वासको प्रतीकसमेत रहेको बताए।
उनले मधेश प्रदेशमा कुस्ती खेलको आफ्नै ऐतिहासिक तथा सांस्कृतिक पहिचान रहेको उल्लेख गर्दै गाउँघरका अखडा, पहलवानहरूको मेहनत र दंगल प्रतियोगिताले पुस्तौँदेखि यस परम्परालाई जीवन्त राख्दै आएको बताए।
परम्परागत कुस्ती खेलको संरक्षण तथा प्रवर्द्धन गर्दै स्थानीय खेलाडीहरूलाई प्रोत्साहन गर्न यस्ता प्रतियोगिता महत्वपूर्ण हुने उनको भनाइ थियो।
साथै, युवा पुस्तालाई खेलकुदप्रति आकर्षित गर्न र स्थानीय स्तरमा कुस्तीको विकास गर्न यस्ता कार्यक्रमले महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरे।
कार्यक्रमको अध्यक्षता सुरेश प्रसाद यादवले गरेका थिए भने विशिष्ट अतिथिका रूपमा मधेश प्रदेशको पूर्व मुख्यमन्त्री लालबाबु राउत गढ़ी,वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख राजेशमान सिंह तथा वीरगञ्ज महानगरपालिका वडा नं. १६ का वडाध्यक्ष पशुराम चौरसियाको उपस्थिति रहेको थियो।
स्थानीय स्तरमा परम्परागत खेलकुदको संरक्षण, खेलाडीहरूको प्रतिभा पहिचान तथा सांस्कृतिक पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ।
