वीरगञ्ज । नेपाल सरकारका पूर्वमन्त्री एवं नेता प्रदीप यादवले मधेशलाई चाडपर्व र राजनीतिक भ्रमणका बेला मात्र सम्झिने प्रवृत्तिको अन्त्य गरी शिक्षा, स्वास्थ्य, रोजगारी, खेलकुद, पर्यटन र विकासका सवालमा पनि राष्ट्रिय प्राथमिकतामा राख्नुपर्ने बताएका छन्।
महापर्व छठको अवसरमा सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै पूर्वमन्त्री यादवले मधेश राष्ट्रिय चर्चामा आउनु सकारात्मक भए पनि संघीयतालाई मजबुत बनाउने, मधेशलाई अधिकारसम्पन्न बनाउने र यहाँका जनतालाई समान अवसर तथा न्यायपूर्ण विकासको अनुभूति गराउने विषयमा नेतृत्वको प्राथमिकता कमजोर देखिएको टिप्पणी गरेका छन्।
उनले छठ पर्वका अवसरमा विभिन्न राजनीतिक दलका नेता तथा उनीहरूका परिवार मधेश आउने क्रम बढ्नुले मधेशको संस्कृति, परम्परा र लोकआस्थाप्रति राष्ट्रिय स्तरमा चासो बढाएको उल्लेख गर्दै यसलाई स्वागतयोग्य बताएका छन्।
यादवले मधेशको समग्र विकासका लागि गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, युवाका लागि रोजगारी, कृषि क्षेत्रको आधुनिकीकरण, खेलकुदको विकास तथा खेलाडीलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिएका छन्।
त्यसैगरी मधेशका ऐतिहासिक, धार्मिक, सांस्कृतिक तथा प्राकृतिक पर्यटकीय स्थलहरूको संरक्षण र प्रवर्द्धन गरी पर्यटनलाई आर्थिक समृद्धिसँग जोड्नुपर्ने उनको भनाइ छ। उद्योग, व्यापार, पूर्वाधार विकास र संघीयताको प्रभावकारी कार्यान्वयनलाई समेत प्राथमिकता दिनुपर्ने उनले बताएका छन्।
छठ पर्वको समावेशी मर्मलाई आत्मसात गर्दै देशका सबै क्षेत्रमा सन्तुलित र समावेशी विकास हुनुपर्ने धारणा राख्दै यादवले मधेशलाई केवल पर्वका बेला सम्झिने होइन, यहाँका जनताको वास्तविक समस्या, आवश्यकता र सम्भावनालाई सधैँ प्राथमिकतामा राख्न सरकार तथा राजनीतिक नेतृत्वसँग आग्रह गरेका छन्।
अन्त्यमा उनले महापर्व छठको पावन अवसरमा नेपालको चौतर्फी विकास, समृद्धि र सबैको सुख, शान्तिको कामना गरेका छन ।

