समसामयिक :

आगजनीपछि पुनः सञ्चालनतर्फ वीरगंज महानगर, सहयोगको सिलसिला जारी

बिहीबार, कात्तिक २०, २०८२

वीरगंज —वीरगंज महानगरपालिकालाई पुनः सहज रूपमा सञ्चालनमा ल्याउन सहयोगी हातहरूबाट सहयोग प्राप्त हुने क्रम जारी छ ।

गएको भदौ २३ र २४ गते ‘जेन्जी’का नाममा भएको आन्दोलनका क्रममा लुटपाट, तोडफोड र आगजनीका कारण महानगरपालिकाको भवन र कार्यालयका सामग्री पूर्ण रूपमा नष्ट भएका थिए । त्यसपछि सेवा प्रवाह प्रभावित बनेको छ ।

नागरिकलाई प्रत्यक्ष सेवा दिने संस्थाको सम्पत्ति जलेपछि त्यसलाई पुनः सञ्चालनमा ल्याउन विभिन्न संघ–संस्था, उद्योग–व्यवसायिक घराना र सामाजिक सङ्गठनहरूले सहयोग र्पुयाइरहेका छन् ।

यसै क्रममा बिहीबार वीरगंज–२१ परवानीपुरस्थित के.एन.पी. जापान प्रा.लि. ले महानगरपालिकालाई २ थान कम्प्युटर सेट सहयोग गरेको छ ।

महानगरपालिकाका सद्भावना दूत समेत रहेका वरिष्ठ उद्योगी अशोक वैद्यको पहलमा उद्योगले सो सहयोग गरेको हो ।

सद्भावना दूत वैद्यको पहलमा यसअघि ब्रिटानिया नेपालले २० थान अफिस कुर्सी उपलब्ध गराएको थियो ।

वैद्यका अनुसार, महानगरपालिकाको सेवा प्रवाहमा कुनै अवरोध आउन नदिन आफूले विभिन्न उद्योगी–व्यवसायीसँग समन्वय गर्दै आवश्यक उपकरण तथा कार्यालय सामग्री उपलब्ध गराउने कार्यलाई निरन्तरता दिइरहेका छन् ।

यसअघि सूर्य नेपाल प्रा.लि., वीरगंज उद्योग वाणिज्य संघ, एन.पी.एल. समाज कल्याण संस्था, र औषधी व्यवसायी संघले ल्यापटप, कम्प्युटर, प्रिन्टर, टेबल–कुर्सी लगायतका सामग्री सहयोग गरिसकेका छन् ।

महानगर प्रमुख राजेशमान सिंहले कठिन समयमा साथ र सहयोग गर्ने सबै संघ–संस्था तथा उद्यमी समुदायप्रति आभार व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, ‘महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो ।

यस्तो कठिन घडीमा साथ र सहयोगका हात अघि बढाउनु हामी सबैका लागि हौसला दिने काम हो । यसले महानगरलाई फेरि उठ्न प्रेरणा दिएको छ ।’

उहाँका अनुसार, प्राप्त सहयोगका सामग्रीहरू प्राथमिक रूपमा प्रशासनिक कार्य सञ्चालनका लागि प्रयोग गरिने छन् ।

साथै, महानगरले आगामी दिनमा अन्य आवश्यक सामग्रीका लागि पनि निजी क्षेत्र र दातृ निकायसँग सहकार्य जारी राख्ने छ ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २०, २०८२  १८:३७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय