वीरगञ्ज । नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गरी जुवा खेल्न कानुनी प्रतिबन्ध रहे पनि वीरगञ्जका क्यासिनोमा नेपालीको प्रवेश रोकिएको छैन।
प्रहरीले पटक–पटक छापा मारेर नेपाली नागरिकलाई नियन्त्रणमा लिने गरे पनि क्यासिनो सञ्चालक तथा व्यवस्थापन पक्षमाथि प्रभावकारी कारबाही भएको विषय सार्वजनिक नहुँदा प्रहरी कारबाहीमाथि नै प्रश्न उठ्न थालेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार वीरगञ्ज महानगरपालिका–१० लोहारपट्टी चोकस्थित फर्चुन सिटी गेमिङ क्लब प्रालि (क्यासिनो) मा नेपाली नागरिक प्रवेश गरी जुवा खेलिरहेको सूचनाका आधारमा प्रहरीले छापा मारेको थियो।
प्रहरीका अनुसार मंसिर १० गते राति करिब ११ः५० बजे खटिएको प्रहरी टोलीले क्यासिनोभित्र जुवा खेलिरहेको अवस्थामा नौ जना नेपाली नागरिकलाई नियन्त्रणमा लिएको थियो।
त्यस्तै, नेपाली नागरिकलाई क्यासिनोमा प्रवेश गराउने तथा जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा थप तीन जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा विजय अग्रवाल, सन्तोष कुमार यादव,अनुराग कुमार,दिनेश साह,दीपक साह,
नरेश प्रसाद,गुन्जमान मोक्तान,विनोद कुमार लो
राजेश श्रेष्ठ तथा जुवा खेलाउने तिलक प्रसाद भट्ट,प्रभु साह तुरहा र दिपक राज पराजुली रहेका छन ।
यसरी एउटै क्यासिनोबाट नेपाली नागरिक जुवा खेलिरहेको अवस्थामा भेटिनु र उनीहरूलाई प्रवेश गराउने व्यक्ति पनि पक्राउ पर्नुले क्यासिनोको प्रवेश व्यवस्थापनमाथि गम्भीर प्रश्न खडा गरेको छ।
तर प्रहरीले सार्वजनिक गरेको विज्ञप्तिमा क्यासिनो सञ्चालक, व्यवस्थापन पक्ष वा कम्पनीका जिम्मेवार पदाधिकारीमाथि के-कस्तो कारबाही प्रक्रिया अघि बढाइएको छ भन्ने विषय स्पष्ट गरिएको छैन।
नेपाली नागरिकलाई प्रवेश निषेध गरिएको क्यासिनोमा उनीहरू कसरी प्रवेश गरिरहेका छन् ? प्रवेश गराउने कर्मचारी मात्रै दोषी हुन् कि व्यवस्थापनको पनि जिम्मेवारी छ ? सञ्चालकलाई जवाफदेही बनाउने कि नगर्ने ? यी प्रश्नको जवाफ सर्वसाधारणले खोजिरहेका छन्।
प्रहरीले जुवा खेल्ने र खेलाउने कार्यमा संलग्न व्यक्तिलाई नियन्त्रणमा लिनु सकारात्मक भए पनि क्यासिनोभित्र नेपाली नागरिकको प्रवेश रोक्न सञ्चालक र व्यवस्थापन पक्षलाई समेत जवाफदेही बनाउनुपर्ने देखिन्छ।
पटक–पटक नेपाली नागरिक पक्राउ पर्ने तर क्यासिनोको व्यवस्थापन र सञ्चालन प्रणालीमाथि प्रभावकारी छानबिन तथा कारबाहीको विवरण सार्वजनिक नहुने हो भने यस्ता प्रहरी कारबाहीले मात्रै समस्या समाधान हुने देखिँदैन।
आखिर नेपालीलाई प्रवेश निषेध गरिएको क्यासिनोमा नेपालीलाई प्रवेश गराउने ढोका कसले खोलिरहेको छ ? र यसको मुख्य जिम्मेवारी कसले लिने ?

