वीरगञ्ज । पर्सा प्रहरीले भन्सार छली गरी भारतबाट अवैध रूपमा भित्र्याइएका २२ लाख रुपैयाँभन्दा बढी मूल्यका सामानसहित तीनवटा सवारीसाधन बरामद गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले वीरगञ्जका विभिन्न स्थानबाट भन्सार छलीका सामान बरामद गरेको हो।
प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर १० रानीघाटस्थित क्षेत्रबाट भारतबाट भन्सार छली चोरी पैठारी गरी ल्याइएको विद्युतीय (ईभी) अटोसहित खाद्यान्नका सामान बरामद गरेको छ। उक्त सामानको मूल्य ४ लाख २३ हजार ५०० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
त्यसैगरी, वीरगञ्ज महानगरपालिका वडा नम्बर १७ रामगढवाबाट बीआर ०५ जीसी ५८४० र बीआर ३१ जी ९७१७ नम्बरका दुईवटा पिकअप गाडी नियन्त्रणमा लिइएको छ।
ती गाडीमा भन्सार छली गरी ल्याइँदै गरेको १७ लाख ७९ हजार २०० रुपैयाँ बराबरका कपडालगायतका सामान बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
प्रहरीका अनुसार ईभी अटोसहित खाद्यान्न तथा दुईवटा पिकअप गाडीमा लोड गरिएका कपडालगायतका सामान गरी कुल २२ लाख २ हजार ७०० रुपैयाँ बराबरको मालसामान बरामद भएको हो।
बरामद गरिएका तीनवटै सवारीसाधन र सामान आवश्यक कानुनी कारबाही तथा थप अनुसन्धानका लागि वीरगञ्ज भन्सार कार्यालय पर्सामा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।
