वीरगञ्ज । पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ प्रकरणमा वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहको नाम जोडेर प्रकाशित समाचारप्रति वीरगञ्ज महानगरपालिकाले गम्भीर आपत्ति जनाएको छ।
नगर प्रमुखका प्रमुख स्वकिय सचिव सत्यराज घिमिरेले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै अनलाइनखबर डटकममा प्रकाशित समाचार तथा त्यसलाई साभार गरी अन्य सञ्चारमाध्यमले प्रकाशन गरेका सामग्रीले मेयर सिंहको प्रतिष्ठामा असर पार्ने गरी असम्बन्धित विषयमा नाम जोडेको जनाएको छ।
विज्ञप्तिमा प्रेस स्वतन्त्रताको सम्मान गरिए पनि समाचार सम्प्रेषण गर्दा सत्यता, सन्तुलन, जिम्मेवारी र तथ्यपरकतालाई पनि पत्रकारिताको अनिवार्य आधारका रूपमा लिनुपर्ने उल्लेख गरिएको छ। समाचार प्रकाशनअघि तथ्यको पूर्ण पुष्टि गर्न सम्बन्धित सञ्चारमाध्यमलाई आग्रह गरिएको छ।
महानगरपालिकाले मेयर सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दाको प्रसंगसमेत विज्ञप्तिमा उल्लेख गरेको छ।
उक्त विषयमा सर्वोच्च अदालतमा रिट दायर गरिएको र सर्वोच्चबाट रिट खारेज भएपछि न्यायिक प्रक्रियालाई सम्मान गर्दै विशेष अदालतको प्रक्रिया पूरा गरिएको जनाइएको छ।
विशेष अदालतबाट सफाइ पाएपछि मेयर सिंह महानगरवासीको सेवामा पुनः उपस्थित भएको भन्दै महानगरपालिकाले कानुनसम्मत न्यायिक प्रक्रियाबाट टुंगिएको विषयलाई जबराको पक्राउ प्रकरणसँग जोडेर प्रस्तुत गर्नु तथ्य र सन्दर्भलाई विकृत गर्ने प्रयास भएको जनाएको छ।
महानगरपालिकाले प्रकाशित समाचारको आवश्यक खण्डन तथा यथोचित सम्बोधन गर्न सम्बन्धित सञ्चारमाध्यमसँग आग्रह गरेको छ।
त्यसो नभए प्रचलित कानुन तथा पत्रकारिता आचारसंहिताअनुसार प्रेस काउन्सिल नेपाललगायत सम्बन्धित निकायमा आवश्यक कानुनी प्रक्रिया अघि बढाउने चेतावनीसमेत दिएको छ।





