नेभिगेशन
समाज
समसामयिक :

कार्यवाहक नगरप्रमुख आलमको निर्देशनपछि वीरगञ्जका बजार क्षेत्रमा सरसफाइ अभियान तीव्र

वीरगंज- वीरगञ्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमको विशेष निर्देशनपछि महानगरका विभिन्न बजार क्षेत्रमा फोहोर संकलन र जाम भएका नालाहरू सफा गर्ने कार्यलाई तीव्र बनाइएको छ।

अलखियामठ, आदर्शनगरलगायत मुख्य व्यापारिक क्षेत्रमा केही समयदेखि फोहोर थुप्रिनुका साथै नाला जाम हुँदा स्थानीय र व्यवसायीले सास्ती खेप्दै आएका थिए।

जनगुनासो बढेपछि कार्यवाहक नगरप्रमुख आलमले सरसफाइ शाखा र प्राविधिक टोलीलाई तत्काल परिचालन गर्न निर्देशन दिएका हुन्।

निर्देशनपछि सरसफाइ टोली आवश्यक उपकरण र सवारीसाधनसहित बजार क्षेत्रमा खटिएको छ।

सडक तथा गल्लीमा थुप्रिएको फोहोर संकलन गर्नुका साथै वर्षायामलाई लक्षित गर्दै जाम भएका नालाहरू सफा गरी पानी निकास खुलाउने काम पनि भइरहेको महानगरपालिकाले जनाएको छ।

यस अभियानपछि बजार क्षेत्रको सरसफाइमा सुधार देखिन थालेको भन्दै स्थानीय व्यवसायी र सर्वसाधारणले महानगरपालिकाको सक्रियताको स्वागत गरेका छन्।

महानगरपालिकाले बजार क्षेत्रलाई स्वच्छ, सुन्दर र दुर्गन्धमुक्त राख्न अभियानलाई निरन्तरता दिने तथा फोहोर जथाभाबी नफाल्न र नालामा अवरोध हुने सामग्री नराख्न नगरबासीलाई आग्रह गरेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्