सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । अखिल नेपाल महिला संघ पर्साको भेला आज वीरगञ्जमा सम्पन्न भएको छ ।
भेला पर्सा क्षेत्र नं. १ बाट नेकपा एमालेका प्रतिनिधि सभा सदस्यका उम्मेदवार प्रदीप यादवको समर्थनमा उनलाई विजयी बनाउने अभियानअन्तर्गत आयोजना गरिएको हो ।
भेलामा सहभागी महिला नेतृ तथा कार्यकर्ताहरूले घर–घरमा पुगेर एमालेका उम्मेदवारको पक्षमा जनमत सृजना गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
संघकी इन्दु घिमिरेको अध्यक्षतामा सम्पन्न भेलामा नेकपा एमालेकी केन्द्रीय सदस्य उर्मिला देवकोटाले देशको राजनीतिक स्थिरता, विकास र सुशासनका लागि नेकपा एमालेको विजय आवश्यक रहेको बताइन् ।
उनले महिला अधिकार, समानता र सशक्तीकरणका क्षेत्रमा एमालेले खेलेको भूमिकाको चर्चा गर्दै महिलाहरूको सक्रिय सहभागिताले मात्र पार्टीलाई विजयी बनाउन सकिने उल्लेख गरिन् ।
“एमालेले महिलाको हकहितका लागि नीति र व्यवहार दुवै तहमा काम गरेको छ, त्यसैले अबको निर्वाचनमा महिलाहरू एकजुट भएर एमालेका उम्मेदवारलाई जिताउन अग्रसर हुनुपर्छ,” उनले भनिन् ।
भेलामा बोल्दै नेतृ पिंकी यादव र रानी रायले प्रदीप यादवको राजनीतिक योगदान, जनतासँगको निकटता र विकासप्रतिको प्रतिबद्धताको चर्चा गर्दै पर्सा क्षेत्र नं. १ मा उनलाई विजयी गराउनु समयको आवश्यकता रहेको बताए।
उनीहरूले महिला संघका कार्यकर्ताहरूलाई संगठित रूपमा परिचालित भएर चुनावी अभियानमा सक्रिय हुन आह्वान गरेका छन् ।
अध्यक्ष इन्दु घिमिरेले महिला संघ पर्साले निर्वाचनसम्म निरन्तर एमालेका उम्मेदवार यादवलाई जिताउन अभियान सञ्चालन गर्ने जानकारी गराइन् ।
उनले महिलाहरूको एकता र सक्रियताले पर्सा क्षेत्र नं. १ मा एमालेका उम्मेदवार प्रदीप यादवको जित सुनिश्चित हुने विश्वास व्यक्त गरिन् ।
भेलाको अन्त्यमा सहभागीहरूले आगामी निर्वाचनमा नेकपा एमाले र उसका उम्मेदवारको पक्षमा संगठित रूपमा लाग्ने संकल्प समेत व्यक्त गरेका थिए ।