सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज- चुनाव नजिकिँदै जाँदा ७ वर्षपछि पर्सा क्षेत्र नम्बर १ बाट काँग्रेस उम्मेदवार अनिल रुंगटा फेरि मैदानमा देखिएका छन्।
तर उनको यो सक्रियताले उत्साहभन्दा बढी प्रश्न र अविश्वास जन्माएको छ। पर्सा क्षेत्रका मतदाता भन्छन्— “चुनावको बेला मात्र देखिने नेतालाई कसरी विश्वास गर्ने ?”
२०७४ सालको निर्वाचनमा पराजय भोगेपछि अनिल रुंगटा लामो समयसम्म जनताबीच देखिएनन्।
न त जनसमस्या सुन्ने कार्यक्रममा, न त सामाजिक गतिविधिमा उनको उपस्थिति उल्लेखनीय रह्यो।
सडक, शिक्षा, खाने पानी, स्वास्थ्य, रोजगारीजस्ता आधारभूत समस्यामा जनता संघर्ष गरिरहेका बेला उनी मौन देखिनु अहिले उनीमाथि नै भारी परेको छ।
स्थानीय बासिन्दा भन्छन्, “हामीलाई नेताको अनुहार चुनावमा होइन, दुःखको बेला चाहिन्छ। सात वर्षसम्म नदेखिएको व्यक्ति अहिले आएर ठूला भाषण गर्दा विश्वास गर्न गाह्रो हुन्छ।”
कतिपय मतदाताले उनलाई ‘चुनावी पाहुना’ को संज्ञा समेत दिएका छन्।
चुनावी सभामा अनिल रुंगटाले विकासका सपना देखाइरहेका छन्। तर मतदाताको प्रश्न छ— “पहिले किन देखिएन ? सत्ता र पहुँच हुँदाहुँदै क्षेत्रका समस्या किन समाधान भएनन् ?” भाषण र व्यवहारबीचको यो दूरीले उनको उम्मेदवारीलाई कमजोर बनाइरहेको देखिन्छ।
राजनीतिक विश्लेषकहरूका अनुसार निरन्तर जनसम्पर्क, पारदर्शिता र उत्तरदायित्व बिना जनविश्वास कायम रहँदैन। केवल चुनावको बेला देखिनु र भावनात्मक भाषण गर्नु अब पर्याप्त छैन।
जनता कामको हिसाब खोजिरहेका छन्। पर्साका मतदाताको स्पष्ट सन्देश छ— “हामीलाई पाँच वर्ष हराउने नेता होइन, पाँच वर्ष साथ दिने प्रतिनिधि चाहिन्छ।” यही कारण, सात वर्षपछि मैदानमा उत्रिएका अनिल रुंगटाको प्रयासलाई जनताले सहजै स्वीकार गरेका छैनन्।
चुनाव नजिकिँदै जाँदा उनको लागि सबैभन्दा ठूलो चुनौती मत जित्नु होइन, विश्वास जित्नु बनेको छ।