सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज - पर्सा–१ मा आगामी निर्वाचन नजिकिँदै जाँदा राजनीतिक माहोल तातेको छ।
यसै सन्दर्भमा पर्सा क्षेत्र १ का एमाले उम्मेदवार प्रदीप यादवले आफूले गरेको राजनीति पद, प्रतिष्ठा वा नाफाका लागि नभई जनताको दुःख–सुखसँग जोडिएको स्पष्ट पारेका छन्।
“मेरो राजनीति जनताको पीडामा साथ दिने, समस्या समाधान गर्ने र क्षेत्रको भविष्य सुरक्षित गर्ने अभियान हो,” उनले बताएका छन्।
पुर्व मन्त्री समेत रहेका यादव पर्सा–१ का मतदाताबीच केवल चुनावी समयमा देखिने नेता होइनन्।
स्थानीय बासिन्दाका अनुसार उनी नियमित रूपमा गाउँ–टोलमा पुगेर जनताका समस्या सुन्ने, सम्भव समाधान खोज्ने र सम्बन्धित निकायसम्म आवाज पुर्याउने नेता हुन्।
सडक, खानेपानी, स्वास्थ्य, शिक्षा र रोजगारीजस्ता आधारभूत विषयमा उहाँले निरन्तर चासो राख्दै आएको जनताको भनाइ छ।
उनले पर्सा–१ मा विकासको बहसलाई नारामा सीमित नराखी व्यवहारमा उतार्ने प्रयास गरेको दाबी गर्छन्।
शिक्षा क्षेत्रमा विद्यालयको अवस्था सुधार, स्वास्थ्य सेवामा पहुँच विस्तार, कृषि क्षेत्रमा सिंचाइ र बजार व्यवस्थापन, तथा युवाका लागि रोजगारी सिर्जना उहाँका प्राथमिक एजेन्डा हुन्।
“समस्या गन्ने धेरै छन्, तर समाधानका लागि जिम्मेवारी लिने कम,” यादव भन्छन्, “मैले त्यसैको अभ्यास गरेको छु।”
युवा तथा विद्यार्थीको समर्थन यादवको अर्को बलियो पक्ष मानिन्छ। आजको पुस्ता भाषणभन्दा परिणाम खोजिरहेको भन्दै उनले युवालाई स्वरोजगार र सीपमूलक तालिममा जोड्ने योजना अघि सारेका छन्।
यही कारण पर्सा–१ का धेरै युवाले उहाँलाई भरोसायोग्य नेता मानेका छन्। यादव इमानदारी र जवाफदेहितालाई आफ्नो राजनीतिक आधार मान्छन्।
जनताको कर र अधिकारको सम्मान गर्दै पारदर्शी रूपमा काम गर्ने प्रतिबद्धता दोहोर्याउँदै आएका छन्। “जनताको विश्वास नै मेरो सबैभन्दा ठूलो पूँजी हो,” उनको भनाइ छ।
स्थानीय अगुवा र बुद्धिजीवीहरू पनि पर्सा–१ लाई अब प्रयोगको थलो बनाउन नहुने बताउँछन्।
अनुभवी, जनतासँग जोडिएको र काम गरेर देखाएको नेतृत्व आवश्यक रहेको उनीहरूको धारणा छ, र यही सन्दर्भमा यादवको नाम अगाडि आएको देखिन्छ।
आगामी निर्वाचन पर्सा–१ को दिशानिर्धारण गर्ने अवसरका रूपमा हेरिएको छ।
जनताको दुःख–सुखमै राजनीति गर्ने दाबी गरेका यादवले जनविश्वासलाई मतमा बदल्न सक्छन् कि सक्दैनन् भन्ने प्रश्नको उत्तर मतदानको दिन आउनेछ।
तर अहिले पर्सा–१ मा उहाँप्रति बढ्दो समर्थनले चुनावी प्रतिस्पर्धा थप रोचक बनेको छ।