सोसल मिडिया
हाम्रो बारेमा
बारा। बाराको कलैया उपमहानगरपालिका वडा नम्बर २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार ई. अरविन्द साहले घरदैलो तथा आमसभा कार्यक्रम सम्पन्न गरेका छन्।
बारा निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार रहेका ई. साहले वडा नम्बर २ का टोलटोलमा घरदैलो गर्दै मतदातासँग प्रत्यक्ष संवाद गरेका थिए।
त्यसपछि आयोजित आमसभामा उनले जनताका समस्या र मुद्दालाई सशक्त रूपमा उठान गर्न कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।
आमसभालाई सम्बोधन गर्दै ई. साहले शिक्षा, स्वास्थ्य, रोजगारी, खानेपानी, सडक र सुशासनलाई आफ्नो मुख्य एजेन्डा रहेको बताए।
उनले विकासका नाममा दोहोरिँदै आएका आश्वासनको राजनीति अन्त्य गर्नुपर्ने उल्लेख गर्दै जनताले दिएको मतको इमानदार उपयोग गर्दै संसदमा क्षेत्रका वास्तविक समस्या मजबुत रूपमा राख्ने धारणा व्यक्त गरे।
घरदैलो तथा आमसभाका क्रममा स्थानीय मतदाताहरूले ई. साहप्रति उत्साह देखाएका छन्। कार्यक्रममा सहभागी मतदाताहरूले वैकल्पिक राजनीतिप्रति भरोसा बढ्दै गएको प्रतिक्रिया दिँदै घण्टी छापमा मतदान गर्न तयार रहेको बताएका छन्।
स्थानीयवासीहरूले परिवर्तन चाहिएको र त्यसका लागि नयाँ सोच र स्पष्ट एजेन्डा भएका उम्मेदवार आवश्यक रहेको धारणा राखेका थिए।
कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय परिषद् सदस्य डा. सुशील साह, मधेस प्रदेश सभापति राधिका न्यौपाने, कलैया तथा क्षेत्रीय तहका पार्टी नेता–कार्यकर्ताको उल्लेखनीय उपस्थिति रहेको थियो।
नेताहरूले जनतासँग सिधा संवादमार्फत अघि बढ्नु नै पार्टीको राजनीतिक शैली भएको बताएका छन्।
ई. साहले यसअघि पनि बारा जिल्लाका विभिन्न वडाहरूमा घरदैलो तथा आमसभा गर्दै मतदातासँग भेटघाट गरिरहेका छन्।
उनले स्थानीयवासीका समस्या, गुनासाे र सुझावलाई आफ्नो चुनावी एजेन्डामा समेट्दै संसदमा प्रभावकारी रूपमा उठाउने प्रतिबद्धता दोहोर्याएका छन्।