Dashain Banner
Dashain Banner
नेभिगेशन
समाज
चुनाव :

पैसाको आडमा राजनीति : पर्सा–२ मा अशोक टेमानीमाथि अवसरवादी आरोप

वीरगंज - पर्सा–२ मा जसपा नेपालबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार व्यवसायी अशोक टेमानीको राजनीतिक सक्रियता बढ्दै गएसँगै उनको भूमिकामाथि विभिन्न टिप्पणी र आलोचना हुन थालेका छन्।

निर्वाचनको मिति नजिकिँदै जाँदा टेमानी घरदैलो तथा मतदाता भेटघाटमा सक्रिय देखिएका छन्। तर, उनको राजनीतिक यात्रा जनताको सेवा भन्दा पनि व्यापारिक स्वार्थसँग जोडिएको आरोप स्थानीय स्तरमा उठ्न थालेको छ।

स्थानीय राजनीतिक वृत्तमा टेमानीले पैसाको प्रभाव प्रयोग गरेर राजनीतिमा प्रवेश गर्न खोजेको चर्चा छ।

लामो समयदेखि उद्योग व्यवसायमा सक्रिय रहेका टेमानीले आफ्ना उद्योगमा नेपाली भन्दा भारतीय कामदारलाई प्राथमिकता दिएको आरोप समेत लाग्दै आएको छ।

यस विषयले स्थानीय युवाहरूबीच असन्तुष्टि बढाएको बताइन्छ। रोजगारीको खोजीमा रहेका नेपाली युवालाई अवसर नदिएको भन्दै टेमानीको आलोचना भइरहेको छ।

त्यसैगरी, मधेस आन्दोलनको समयमा टेमानी आन्दोलनको विरोधमा रहेको दाबी पनि विभिन्न राजनीतिक समूह र स्थानीयले उठाएका छन्।

तर अहिले उनी आफूलाई खाँटी मधेसवादी नेताको रूपमा प्रस्तुत गर्न खोजिरहेको आरोप समेत लागेको छ।

यसले उनको राजनीतिक धार र प्रतिबद्धतामाथि प्रश्न उठाएको राजनीतिक जानकारहरू बताउँछन्।

स्थानीय मतदाताहरूका अनुसार टेमानीको सक्रियता चुनाव केन्द्रित मात्रै देखिएको छ। जनताको दैनिक समस्या, बेरोजगारी, शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका मुद्दामा स्पष्ट योजना सार्वजनिक नगरेको भन्दै उनीमाथि आलोचना भइरहेको छ।

कतिपयले टेमानीले व्यापारिक सुरक्षा र प्रभाव बढाउन राजनीतिलाई माध्यम बनाउन खोजेको टिप्पणी गरेका छन्।

उनले घरदैलोका क्रममा क्षेत्रको विकास, रोजगारी सिर्जना तथा आर्थिक गतिविधि विस्तारमा योगदान दिने बताउँदै आएका छन्।

पर्सा–२ मा निर्वाचन नजिकिँदै जाँदा टेमानीको उम्मेदवारी र उनको राजनीतिक उद्देश्यबारे बहस अझ चर्किने देखिएको छ।

जनताले उनको विगत, काम र प्रतिबद्धता मूल्यांकन गरेर मात्रै निर्णय लिनुपर्ने आवाज स्थानीय स्तरमा उठ्न थालेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्