सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज - पर्सा क्षेत्र नम्बर १ का काँग्रेस उम्मेदवार अनिल रुंगटाले चुनावी घरदैलोमा नेपाली युवालाई रोजगारी दिने ठूलो–ठूलो प्रतिबद्धता दोहोर्याइरहेका छन् ।
तर उनको व्यवहार र वास्तविकता हेर्दा ती भाषणहरू खोक्रा र भ्रामक देखिन थालेका छन् ।
आफ्नै उद्योगहरूमा नेपालीभन्दा भारतीय कामदारलाई प्राथमिकता दिएको तथ्य बाहिरिँदै जाँदा अनिल रुंगटाको बेरोजगारी सम्बन्धी नीति दोहोरो चरित्रको प्रतीक बनेको छ ।
श्रम कार्यालय स्रोतका अनुसार अनिल रुंगटाको स्वामित्वमा रहेको माँ दुर्गा फुड उद्योग र जग शक्ति स्टिल उधोगमा काम गर्ने अधिकांश मजदुर भारतीय छन् ।
नेपाली युवाहरू काम खोज्दै ती उद्योगका ढोका ढकढक्याउँदा पनि अवसर नदिइएको गुनासो बढ्दो छ ।
उद्योग आफ्नै देशमा, नाफा आफ्नै खल्तीमा, तर रोजगारी भने छिमेकी देशका नागरिकलाई—यो कस्तो राष्ट्रप्रेम हो ? एकातिर अनिल रुंगटा चुनावी भाषणमा “नेपाली युवालाई स्वदेशमै रोजगारी” भन्ने नारा लगाउँछन् ।
अर्कोतिर व्यवहारमा नेपालीलाई बेवास्ता गरेर भारतीय कामदारलाई प्राथमिकता दिन्छन् ।
यही कारण आज हजारौँ नेपाली युवाहरू काम नपाएर खाडी, मलेसिया र भारततिर पलायन हुन बाध्य छन् । यो अवस्था कसको कारणले सिर्जना भयो ? जिम्मेवारी कसले लिने ?
स्थानीय युवाहरू भन्छन्, “काम गर्न सक्ने क्षमता हुँदाहुँदै पनि अवसर नदिइनु अन्याय हो ।” उनीहरूको आरोप छ—नेपाली कामदारलाई न्यून ज्याला, अस्थायी काम र अपमानजनक व्यवहार देखाइन्छ, जबकि भारतीय कामदारलाई स्थायी र प्राथमिकता दिइन्छ ।
यस्तो विभेदपूर्ण नीति अपनाउने उम्मेदवारले कसरी जनताको प्रतिनिधित्व गर्न सक्छ ? राजनीति भाषणले होइन, कर्मले मापन हुन्छ ।
अनिल रुंगटाको कर्मले भने उनको भाषणलाई झुटो सावित गरिरहेको छ । बेरोजगारी हटाउने नाममा भोट माग्ने, तर आफ्नै उद्योगमा बेरोजगारी बढाउने—यही दोहोरो नीति आज पर्सा क्षेत्र-१ का मतदाताको मुख्य चिन्ता बनेको छ ।
अब प्रश्न उठ्छ—के मतदाताले फेरि यस्तै खोक्रा आश्वासनमा विश्वास गर्ने ? नेपालीलाई काम दिने भनाइ केवल चुनावी नारा मात्रै हो कि साँच्चिकै प्रतिबद्धता ?
जब व्यवहार र भाषणबीच यति ठूलो खाडल छ, तब जनताले सचेत भएर निर्णय लिनु आवश्यक छ । रोजगारीको मुद्दामा दोहोरो चरित्र देखाउने उम्मेदवारलाई जनताले कडा हिसाब–किताब गर्ने समय आएको छ ।