खेलकुद :

पिएम कप क्रिकेटको तयारीमा वीरगंज : मैदान मर्मतमा तिब्रता, मेयर सिंह आफैं खटिए

सोमबार, माघ १९, २०८२

वीरगंज - ​वीरगंजमा आयोजना हुन लागेको प्रधानमन्त्री (पिएम) कप क्रिकेट प्रतियोगिताको तयारीलाई महानगरपालिकाले तीव्रता दिएको छ।

प्रतियोगिताका लागि निर्धारित नारायणी क्रिकेट मैदानलाई अन्तर्राष्ट्रिय मापदण्ड अनुरूप तयार पार्न अहिले रात-दिन नभनी मर्मतको काम भइरहेको छ।

तयारीको पछिल्लो अवस्था बुझ्न वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह आफैं राति अबेरसम्म मैदानमा खटिनु भएको छ।

शनिबार राति १० बजे मैदान पुग्नुभएका मेयर सिंहले निर्माण कार्यको निरीक्षण गर्दै कामलाई गति दिन निर्देशन दिनुभयो।

"हामीले खेलकुदको माध्यमबाट वीरगंजको गरिमा बढाउनुपर्नेछ, त्यसैले तयारीमा कुनै कमी हुन दिने छैनौं," निरीक्षणका क्रममा उहाँले भन्नुभयो।

मैदानमा मुख्य पिच यसअघि नै तयार भइसकेको भए पनि खेलाडीहरूलाई प्रशिक्षण (प्राक्टिस) का लागि थप पिचको आवश्यकता महसुस गरी नयाँ पिच निर्माण सुरु गरिएको छ।

मुख्य पिचभन्दा पश्चिम तर्फ रहेको खाली ठाउँमा माटो भरेर नयाँ पिच बनाउने काम अहिले धमाधम चलिरहेको छ। रातको समयमा पनि पिच र मैदान सम्याउने काम भइरहेको छ ।

​प्रतियोगिता नजिकिँदै गर्दा मैदानको आउटफिल्ड सुधार, दर्शक दीर्घाको व्यवस्थापन र प्राविधिक तयारीलाई महानगरले उच्च प्राथमिकतामा राखेको छ।

तराईको चिसो मौसमका बाबजुद पनि राति १०-११ बजेसम्म मेयर आफैं उपस्थित भएर कामको अनुगमन गर्दा निर्माण टोली र स्थानीय खेलप्रेमीहरू उत्साहित देखिएका छन्।

पिएम कपको यो आयोजनाले वीरगंजलाई पुनः क्रिकेटको 'हब' को रूपमा स्थापित गर्ने विश्वास लिइएको छ।

प्रकाशित मिति: सोमबार, माघ १९, २०८२  १८:०८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय