सोसल मिडिया
हाम्रो बारेमा
पर्सा । पर्सा जिल्लाको राजनीतिक माहोल पछिल्ला दिनमा फेरि तातेको छ।
यही सन्दर्भमा नेपाली काँग्रेस पर्सा क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका अनिल रुङटाको उम्मेदवारीमाथि गम्भीर प्रश्न उठ्न थालेका छन्।
सात वर्षसम्म जनतासँगको दूरी, स्थानीय गतिविधिमा न्यून उपस्थिति र संकटका बेला मौनताकै कारण उनीप्रति जनविश्वास कमजोर बन्दै गएको देखिन्छ।
स्थानीय मतदाताहरूका अनुसार रुङटा चुनावको समयमा मात्र सक्रिय देखिन्छन्। चुनाव सकिएपछि भने उनी पर्साबाट लगभग हराउने गरेको आरोप छ।
बाढी, महामारी,पानीको हाहाकार, बेरोजगारी, महँगी र आधारभूत सेवाको अभाव जस्ता समस्याले जनतालाई पिरोल्दा रुङटाको उपस्थिति नदेखिनु नै असन्तोषको मुख्य कारण बनेको छ। “हामीलाई भोट माग्न मात्र सम्झिने नेता चाहिँदैन,” एक स्थानीय वृद्ध मतदाता भन्छन्।
राजनीतिक जान्नेहरु भन्छन्, कुनै पनि नेताको शक्ति जनतासँगको निरन्तर सम्बन्ध र विश्वासमा निर्भर हुन्छ।
तर रुङटाको हकमा सात वर्षे दूरीले त्यो सम्बन्ध लगभग टुटिसकेको अवस्था सिर्जना गरेको उनीहरूको विश्लेषण छ।
जनताबीच बसेर समस्या बुझ्ने, समाधानका लागि पहल गर्ने र जवाफदेही बन्ने अभ्यास नहुँदा उनको राजनीतिक विश्वसनीयता कमजोर भएको देखिन्छ।
युवा मतदाताहरूले “अब भाषणले मात्र पुग्दैन, काम देखिनुपर्छ,” उनीहरू भन्छन्। सामाजिक सञ्जालमा समेत रुङटाको अनुपस्थितिबारे आलोचना तीव्र छ। कतिपयले उनलाई ‘सिजनल नेता’को संज्ञा दिन थालेका छन्।
पर्सा जस्तो संवेदनशील र सम्भावनायुक्त जिल्लालाई दीर्घकालीन सोच, सक्रिय नेतृत्व र निरन्तर जनसम्पर्क आवश्यक छ।
सात वर्षसम्म जनताबाट टाढा बसेको इतिहास बोकेको उम्मेदवारीले त्यो आवश्यकता पूरा गर्न सक्छ कि सक्दैन भन्ने प्रश्न अहिले पर्सेली जनताले गम्भीर रूपमा उठाएका छन्।
यही कारण अनिल रुङटाको उम्मेदवारी दिनप्रतिदिन कमजोर बन्दै गएको स्पष्ट देखिन्छ।