सोसल मिडिया
हाम्रो बारेमा
पर्सा । नेपाली राजनीतिमा पछिल्लो समय जेन–जीको नाम व्यापक रूपमा प्रयोग हुन थालेको छ।
परिवर्तन, नयाँ सोच र पुस्तान्तरणको नारा बोकेर अगाडि बढिरहेको जेन–जी आन्दोलनलाई कतिपयले आफ्नो राजनीतिक स्वार्थ पूरा गर्ने हतियार बनाउँदै गएको आरोप लाग्न थालेको छ।
यही आरोपको केन्द्रमा नेकपा एमालेबाट पर्सा क्षेत्र नम्बर २ कि उम्मेदवार बनेकी रिमा कुमारी यादवको नाम जोडिँदै गएको छ।
स्थानीयस्तरमा उम्मेदवार रिमा कुमारी यादवलाई राजनीति नबुझ्ने, जनसमस्या प्रति गम्भीर नदेखिने पात्रको रूपमा चर्चा गरिँदै आएको छ।
नीति, कार्यक्रम र राजनीतिक दृष्टिकोणभन्दा प्रचार र नारामा सीमित देखिएकी उम्मेदवार रिमाले जेन–जीको नाम प्रयोग गरेर आफूलाई नयाँ पुस्ताको प्रतिनिधि जस्तै प्रस्तुत गर्न खोजेको आरोप युवाहरूले लगाएका छन्।
जेन–जी आन्दोलन सडकमा रगत, पसिना बगाएर, प्रश्न सोधेर र पुरानो राजनीतिक संस्कारविरुद्ध उभिएको आन्दोलन हो।
तर उम्मेदवार रिमाको गतिविधिले यो आन्दोलनलाई केवल “ब्रान्ड” जस्तै प्रयोग गरिएको अनुभूति गराएको छ।
“जेन–जी भनेकै युवाको आवाज हो, तर उहाँको बोलाइ र व्यवहारमा त्यो आवाज देखिँदैन,” एक स्थानीय युवाले टिप्पणी गरे।
राजनीति बुझाइ, निरन्तरता र प्रतिबद्धताबाट चल्ने प्रक्रिया हो, केवल उमेर वा नाम जोडेर चम्किने क्षेत्र होइन।
जेन–जीको नाम लिएर मत माग्नु, तर जेन–जीले उठाएका शिक्षा, रोजगारी, पारदर्शिता र उत्तरदायित्वजस्ता मुद्दामा स्पष्ट धारणा नआउनु गम्भीर प्रश्न हो।
आजका युवाहरू सजिलै प्रभावित हुने अवस्थामा छैनन्। उनीहरू नारा होइन, दृष्टिकोण खोजिरहेका छन्; फोटो सेसन होइन, स्पष्ट योजना चाहिरहेका छन्।
यदि उम्मेदवार रिमाले साँच्चिकै जेन–जीको प्रतिनिधित्व गर्न चाहन्छिन् भने, पहिले राजनीति बुझ्नुपर्ने र जनतासँग निरन्तर जोडिनुपर्ने आवश्यकता छ।
नत्र, जेन–जीको नाम भजाएर राजनीति चम्काउने प्रयास लामो समय टिक्ने छैन। चेतनशील युवाले यस्तो सतही राजनीतिलाई छिट्टै चिन्ने र अस्वीकार गर्ने संकेत स्पष्ट देखिन थालेको छ।