सोसल मिडिया
हाम्रो बारेमा
पर्सा — “चुनाव आयो कि मात्रै देखिने नेताबाट हामी दिक्क भइसकेका छौं,” भन्ने आवाज पर्सा क्षेत्र नम्बर १का विभिन्न स्थानमा तीव्र रूपमा उठ्न थालेको छ।
आगामी चुनाव नजिकिँदै जाँदा काँग्रेस उम्मेदवार अनिल रुंगटा भोट माग्दै गाउँ–बस्ती पुगेपछि स्थानीय मतदाताले खुलेर असन्तुष्टि व्यक्त गरेका हुन्।
स्थानीयका अनुसार अनिल रुंगटाले अघिल्ला(२०७४)को चुनावमा विकास, रोजगारी, शिक्षा र स्वास्थ्य सेवामा सुधार ल्याउने आश्वासन दिएका थिए, तर चुनावपछि जनताको समस्या समाधानमा खासै चासो दिनुत परै जाओस उनि जनताको विचमा कहिलयै नदेखिएको उनीहरूको आरोप छ।
श्रीपुर ११ का एक मतदाताले भने, “भोट माग्न आउँदा मीठा कुरा हुन्छन्, तर चुनाव सकिएपछि फोनसमेत उठ्दैन।”
बेरोजगारी जस्ता समस्या वर्षौंदेखि जस्ताको तस्तै रहेको स्थानीयको गुनासोछ। उनीहरू भन्छन्, यस्ता समस्या समाधान गर्नुको साटो नेताहरू भाषण र प्रचारमा मात्र सीमित भएका छन्।
एक युवाले आक्रोश व्यक्त गर्दै भने, “फोटो खिच्न र भाषण गर्न मात्र नेता चाहिएको होइन, काम गर्ने नेता चाहिन्छ।”
अनिल रुंगटाको पछिल्लो चुनावी गतिविधिप्रति सामाजिक सञ्जालमा पनि आलोचना बढ्दै गएको छ। कतिपयले उनलाई ‘चुनावी नेता’ भन्दै टिप्पणी गरेका छन्। यस असन्तुष्टिले आगामी चुनावमा नतिजा बदलिन सक्ने संकेत देखिएको छ।
राजनीतिक विश्लेषकहरूका अनुसार पर्सामा देखिएको यो असन्तुष्टि अनिल रुंगटाका लागि गम्भीर चेतावनी हो। जनतासँग निरन्तर सम्पर्क, पारदर्शिता र वास्तविक काम नगरे विश्वास जित्न कठिन हुने उनीहरूको भनाइ छ।
यसपटक पर्साका मतदाताले भाषण होइन, कामका आधारमा मत दिने मनस्थिति बनाएको देखिन्छ। भोट माग्न आउँदा मात्रै होइन, सधैं जनताको साथमा रहने नेताको खोजीमा जनता छन्।