राजनीति :

वडाध्यक्ष र पूर्व वडाध्यक्षसहित सयौँ नेता–कार्यकर्ता जसपा परित्याग गर्दै एमाले प्रवेश

शनिबार, माघ १७, २०८२

वीरगञ्ज। पर्सा जिल्लाको वीरगञ्ज महानगरपालिका–११ र १३ का जनप्रतिनिधिसहित सयौँको सङ्ख्यामा नेता तथा कार्यकर्ताहरूले जनता समाजवादी पार्टी (जसपा) नेपाल र जनता समाजवादी पार्ट (जसपा) लगायतका विभिन्न दल परित्याग गर्दै नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

वीरगञ्ज–११ का वडाध्यक्ष अजयकुमार बारै (चौरसीया), वडा सदस्य जगनलाला महतो धानुक, गौदमी देवीसहितका नेता–कार्यकर्ताहरू एमाले प्रवेश गरेका हुन् ।

यस्तै, वीरगञ्ज–१३ का पूर्व वडाध्यक्ष तूफान फारुक अन्सारी तथा निर्वाचित वडा सदस्य लाल मोहम्मद मन्सुरीले पनि जसपा त्यागेर एमाले रोजेका छन् ।

नवप्रवेशीहरूलाई पूर्व मन्त्री तथा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेकपा (एमाले) का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले फूलमाला लगाएर स्वागत गरेका छन् ।

कार्यक्रममा बोल्दै वडाध्यक्ष चौरसीयाले जसपा नेपालले मधेस मुद्दालाई प्रयोग गरी सत्ता केन्द्रित राजनीति मात्र गरेको आरोप लगाए ।

देशको वर्तमान परिस्थितिमा जनता र मुलुकको हितका लागि दृढतापूर्वक उभिन सक्ने नेतृत्व केपी शर्मा ओली र पार्टी नेकपा (एमाले) भएको दाबी गर्दै आफूहरूले एमाले रोजेको बताए ।

यस्तै, वीरगञ्ज–१३ का निवर्तमान वडाध्यक्ष अन्सारीले देशी तथा विदेशी शक्तिहरूको इसारामा देशलाई अस्थिर बनाउने षड्यन्त्र भइरहेको आरोप लगाउँदै जनताको हित र राष्ट्रिय स्वाभिमानका लागि एमाले प्रवेश गरेको स्पष्ट पारे ।

पार्टी प्रवेश गराउँदै पूर्व मन्त्री यादवले आफ्नो राजनीतिक हत्या गर्ने प्रयासपछि आफू एमालेमा आएको दाबी गरे ।

जेन–जी आन्दोलनपछि देशमा सक्रिय भएका विदेशी शक्तिहरूको दबाबलाई अन्त्य गर्न तथा राष्ट्रिय स्वाधीनताको पक्षमा उभिन एमाले अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वबाट आफू प्रभावित भएको बताए ।

कार्यक्रममा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य जनत अन्सारी, जिल्ला समन्वय समितिका पूर्व सभापति नेक मोहम्मद अन्सारीलगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रममा सहभागीहरूले आगामी निर्वाचनमा एमालेको विजय सुनिश्चित गर्न सङ्गठित रूपमा अगाडि बढ्ने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

प्रकाशित मिति: शनिबार, माघ १७, २०८२  १३:२३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय