Dashain Banner
Dashain Banner
नेभिगेशन
समाज
समसामयिक :

एमाले पर्सा–२ की उम्मेदवार रिमा कुमारी यादव आलोचनामा,विकासको एजेन्डा स्पष्ट नभएको आरोप

पर्सा । चुनाव केवल दलको झण्डा फहराउने उत्सव होइन, यो जनताको भविष्यसँग जोडिएको गम्भीर राजनीतिक परीक्षा हो।

तर पर्सा निर्वाचन क्षेत्र नम्बर २ मा नेकपा एमालेकी प्रतिनिधिसभा उम्मेदवार रिमा कुमारी यादवको उम्मेदवारी हेर्दा, यो परीक्षा दिनेभन्दा पास हुने रणनीति खोजिएको जस्तो देखिन्छ।

विकासको कुरा गर्दा उनका भाषणहरूमा न त स्पष्ट दिशा छ, न त प्राथमिकताको खाका। “विकास गर्छु”, “समृद्धि ल्याउँछु” जस्ता खोक्रा नाराले अब पर्सा–२ का जनतालाई झुक्याउन सकिँदैन।

जनताले सडक, सिँचाइ, रोजगारी, शिक्षा र स्वास्थ्यका सवालमा ठोस उत्तर खोजिरहेका छन्, तर उम्मेदवारको मुखबाट पार्टीको केन्द्रीय घोषणापत्र बाहेक आफ्नै दृष्टिकोण सुनिँदैन।

यादवमाथि विकासको स्पष्ट एजेन्डा नभएको आरोप लाग्दै आलोचना सुरु भएको छ।

चुनावी मैदानमा सक्रिय रहे पनि स्थानीय मुद्दा, विकासका प्राथमिकता र क्षेत्रीय आवश्यकताबारे स्पष्ट दृष्टिकोण प्रस्तुत गर्न नसकेको भन्दै उनको उम्मेदवारीप्रति प्रश्न उठ्न थालेको हो।

स्थानीय बुद्धिजीवी, नागरिक समाज तथा राजनीतिक विश्लेषकहरूले रिमा यादवले चुनावी भाषणमा पार्टीको केन्द्रीय नारा दोहोर्याउने बाहेक पर्सा–२ को विशिष्ट समस्या—बेरोजगारी, सिँचाइ, शिक्षा, स्वास्थ्य र सीमावर्ती क्षेत्रका चुनौतीबारे ठोस योजना नल्याएको आरोप लगाएका छन्।

“नेता चुनाव जित्न मात्र होइन, क्षेत्रको भविष्य देखाउन सक्नुपर्छ,” एक स्थानीय नागरिकले बताए।

आलोचकहरूका अनुसार रिमा यादव जनतासँग प्रत्यक्ष संवादभन्दा सीमित भेटघाट र औपचारिक कार्यक्रममा मात्र देखिने गरेको गुनासो पनि बढ्दै गएको छ।

यसले उनको जमीनी पकड कमजोर देखिएको विश्लेषण गरिएको छ। विपक्षी दलहरूले समेत विकासको खाका नहुँदा उनी ‘नाम मात्रकी उम्मेदवार’ बनेको टिप्पणी गरिरहेका छन्।

यद्यपि एमाले पक्षधरहरू भने आलोचना राजनीतिक पूर्वाग्रहबाट प्रेरित भएको दाबी गर्दै पार्टीको राष्ट्रिय विकास दृष्टिकोण नै पर्सा–२ का लागि पर्याप्त हुने तर्क गर्छन्।

तर स्थानीय मतदाताहरू भने अब पार्टीको नामभन्दा उम्मेदवारको क्षमता, दृष्टि र कार्ययोजनालाई आधार बनाएर निर्णय गर्ने संकेत देखिएको छ।

चुनावी सरगर्मी बढेसँगै रिमा यादवले आलोचनालाई कसरी सामना गर्छिन् र पर्सा–२ का जनतालाई विश्वास दिलाउने ठोस एजेन्डा ल्याउँछिन् कि ल्याउँदिनन् भन्ने प्रश्नले चुनावी बहसलाई थप चर्काएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्