सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज । नेपाली काँग्रेसका नेता एवं पर्सा क्षेत्र नं. १ प्रतिनिधि सभाका उम्मेदवार अनिल रुङ्टाले वीरगन्जस्थित मानव सेवा आश्रमको स्थलगत अवलोकन गरेका छन्।
अवलोकनका क्रममा उनले मानव सेवाले लामो समयदेखि समाजका असहाय, अशक्त तथा सेवाबाट वञ्चित वर्गका लागि गर्दै आएको योगदानको खुलेर प्रशंसा गरेका छन्।
रुङ्टाले मानव सेवामा आबद्ध स्वयंसेवक तथा अभियन्ताहरूले कुनै पनि आर्थिक लोभ वा प्रतिफलको अपेक्षा नगरी निस्वार्थ भावनाका साथ गरिरहेको सेवा अतुलनीय र अत्यन्त प्रशंसनीय रहेको बताए।
उनले यस्ता सेवामूलक संस्थाहरू समाजका मौन पीडितहरूका लागि आशाको केन्द्र बनेको उल्लेख गर्दै यिनको भूमिकाले समाजमा सकारात्मक सोच, सहानुभूति र मानवीय मूल्यहरूको विकासमा महत्वपूर्ण योगदान पुर्याइरहेको धारणा व्यक्त गरे।
अवलोकनका क्रममा उम्मेदवार रुङ्टाले संस्थामा आश्रित व्यक्तिहरूसँग आत्मीय संवाद गर्दै उनीहरूलाई आफ्नै हातले खाना खुवाएका थिए।
सो अवसरमा उनले सेवा, सहानुभूति र सहयोगको संस्कृतिबाट नै समावेशी, न्यायपूर्ण र मानवीय समाज निर्माण सम्भव हुने स्पष्ट पारे।
समाजका कमजोर वर्गप्रति राज्य, राजनीति र नागरिक सबैको साझा उत्तरदायित्व रहने उनको भनाइ थियो।
रुङ्टाले यस्ता सामाजिक सेवामा क्रियाशील संस्थाहरूलाई आवश्यक सहयोग, सहकार्य र प्रवर्द्धन गर्नु आफूजस्ता जनप्रतिनिधिको दायित्व भएको उल्लेख गर्दै व्यक्तिगत रूपमा जे गर्न सकिन्छ, त्यसमा सधैं साथ र सहयोग रहने प्रतिबद्धता व्यक्त गरे।
उनले राजनीति केवल सत्ता प्राप्तिको माध्यम मात्र नभई समाज रूपान्तरणको प्रभावकारी साधन हुनुपर्ने धारणा समेत राखे।