सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । तराई–मधेस क्षेत्रको सांस्कृतिक धरोहरका रूपमा स्थापित धार्मिक आस्था, सामुदायिक एकता र प्रकृतिप्रतिको कृतज्ञताको सन्देश बोकेको छठ पर्वको मुख्य दिन ‘सझिया घाट’ आज सोमबार भव्य उत्साहका साथ मनाइँदै छ ।
कात्तिक शुक्ल षष्ठी तिथिमा आज व्रतालुहरूले वीरगञ्जसहित देशभरका नदी, पोखरी र तलैयामा बनाइएका छठ घाटहरूमा अस्ताउँदो सूर्यलाई अर्घ्य अर्पण गरी सूर्यदेव र छठी माताको पूजा–आराधना गर्ने छन् ।
आज बिहानैदेखि व्रतालुहरूले पवित्र स्नान गरी नयाँ र शुद्ध वस्त्र धारण गरेर छठ घाटहरूमा पुग्ने छन् ।
वीरगञ्जको घडिअर्वा पोखरी, रानीघाटको सिर्सिया घाट, नगवा, राधेमाई, मुर्ली पोखरीलगायतका जलाशयहरू झिलिमिली बत्ती र रङ्गीचङ्गी सजावटले सजिएका छन् ।
व्रतालुहरूले बाँसको चोयाबाट बनेको ‘सुपली’ र माटोको ‘ढकनी’मा उखु, काँचो केरा, कागती, ठेकुवा, बोडी, अदुवाको बोट, स्याउ, जटायुक्त नरिवल, भिजाएको केराउ, चामलको अछेता र पातसहितको मूलालगायतका सामग्री राखेर सूर्यदेवलाई अर्घ्य अर्पण गर्ने छन् ।
सूर्यास्तको समयमा व्रतालुहरूले जलाशयमा प्रवेश गरी सूर्यदेवलाई जलले अभिषेक गर्दै परिवारको सुख, समृद्धि र दीर्घायुको प्रार्थना गर्न गर्छन् ।
अर्घ्यपछि ‘शिरसोप्ता’ (छठी माताको प्रतीक) वरिपरि बसेर परम्परागत छठ गीतहरू गाउँदै गीतहरूमा छठी माताको महिमा र सूर्यदेवको कृपाको वर्णन गरिने छन् ।
सझिया घाटको अर्घ्यपछि राति कोसी पूजा गर्ने प्रचलन पनि रहेको छ ।
मनोकामना पूरा भएका व्रतालुहरूले घरको आँगन, छत वा नदी किनारमा चारदेखि २१ उखुको मण्डप बनाएर माटोको हात्ती, कलश र रातो कपडामा ठेकुवा, फलफूल, अर्कपात, भिजाएको केराउलगायतका सामग्री राखेर पूजा गर्ने छन् ।
कोसी पूजा भोलि बिहान भोरिया घाटमा दोहोर्याएर माटोको हात्तीलाई जलाशयमा विसर्जन गरिन्छ ।
भोलि मङ्गलवार सप्तमी तिथिमा ‘भोरिया घाट’ वा ‘परना’ मा व्रतालुहरू बिहानै स्नान गरी सुपली र ढकनीमा सजाइएका प्रसाद लिएर उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्नेछन् ।
अर्घ्यपछि महिलाहरूले एक–अर्काको सिउँदोमा सिन्दूर लगाएर सुख–समृद्धिको कामना गर्नेछन् । यो विधिपछि निराहार–निर्जल व्रत समाप्त भई पर्व विधिवत् समापन हुनेछ ।
महाभारतमा पाण्डवहरूले अज्ञातवासमा सूर्यदेवको आराधना गरेको, सूर्य पुराणमा अनुसूयाले अटल सौभाग्यका लागि छठ व्रत गरेको र साम्ब पुराणमा श्रीकृष्णका पुत्र साम्बले कुष्ठ रोग मुक्तिका लागि सूर्य पूजा गरेको कथा छ ।
कथाहरूले छठलाई सौभाग्य, स्वास्थ्य र समृद्धिको प्रतीक बनाएको छ ।