सोसल मिडिया
हाम्रो बारेमा
वीरगञ्ज । तराई-मधेसको महान् पर्व छठको दोस्रो दिन आज खरना विधि धूमधामका साथ मनाइँदै छ ।
कात्तिक शुक्ल पञ्चमी तिथिमा मनाइने खरनाको दिन व्रतालुहरू दिनभर निराहार-निर्जल उपवास बसेर साँझ चामल, दूध र सख्खरबाट बनाइएको खिर (रसियाव), रोटी, केरा लगायतका फलफूल र मिठाइले छठी माता र कुलदेवताको पूजा गर्छन् ।
सोही प्रसाद व्रतालुहरूले ग्रहण गर्नुका साथै परिवार र छिमेकीहरूसँग बाँडेर सामुदायिक एकताको सन्देश प्रवाह गर्छन् ।
छठ पर्वको पहिलो दिन शनिवार नहाय-खाय विधिबाट सुरु भएको थियो ।
व्रतालुहरूले नदी, पोखरी वा पवित्र जलाशयमा स्नान गरी शुद्ध शाकाहारी भोजन ग्रहण गरेर आत्मिक र शारीरिक शुद्धताको प्रारम्भ गरेका थिए ।
आज खरनाको दिन व्रतालुहरूले कठोर उपवास पालना गर्दै साँझको पूजापछि प्रसाद ग्रहण गर्छन् ।
भोलि सोमबार कात्तिक शुक्ल षष्ठी तिथिमा मुख्य दिनमा अस्ताउँदो सूर्यलाई अर्घ्य दिइनेछ भने मगंलबार सप्तमी तिथिमा उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गरी पर्व समापन हुनेछ ।
छठ पर्वको तयारी गोवर्धन पूजा र बजडी पर्वसँगै बिहीबारबाट सुरु भएको थियो ।
परम्परागत रूपमा गहुँ धोएर सुकाइएको पिठोबाट ठेकुवा, पुडुकीया लगायतका प्रसाद बनाइन्छ ।
छठ पर्व गर्नाले मनोकामना पुरा हुने जन विश्वास छ ।