जेन जी आन्दोलन :

गृहमन्त्री रमेश लेखकले दिए राजिनामा

सोमबार, भदौ २३, २०८२

वीरगञ्ज । गृहमन्त्री रमेश लेखकले सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा राजीनामा दिएका छन् ।

सोमबार जेनजीहरूको प्रदर्शन हिंसात्मक बनेपछि उक्त घटनाको नैतिक जिम्मेवारी लिँदै उनले राजीनामा दिने निर्णय गरेका हुन् ।

नेपाली काँग्रेसको सोमबार बसेको पदाधिकारी बैठकमा लेखकले घटनाको जिम्मेवारी लिनुपर्ने बताएका थिए ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार, जेनजीको प्रदर्शनका क्रममा मुलुकभर हालसम्म २१ जनाको मृत्यु भएको छ भने ३४७ जना घाइते भएका छन् ।

मन्त्रालयले दिएको जानकारीअनुसार, सिभिल अस्पतालमा उपचारका क्रममा ३ जनाको मृत्यु भएको छ र १०० जनाको उपचार भइरहेको छ । यस्तै, वीर अस्पतालमा ६ जना, राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जनाको उपचार भइरहेको छ भने ट्रमा सेन्टरमै ८ जनाको मृत्यु भएको छ ।

बानेश्वरस्थित एभरेस्ट अस्पतालमा १०२ जना घाइतेको उपचार भइरहेको छ र ३ जनाको मृत्यु भएको छ । आठ जनालाई अन्यत्र रेफर गरिएको छ ।

पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ४ जना, काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जनाको उपचार भइरहेको छ भने त्यहाँ २ जनाको मृत्यु भएको छ । घाइतेमध्ये ६ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था छ ।

नर्भिक अस्पतालमा ३ जना र त्रिवि शिक्षण अस्पतालमा १८ जनाको उपचार भइरहेको छ । त्यहाँ १ जनाको मृत्यु भएको छ ।

काठमाडौँ उपत्यका बाहिर गण्डकी मेडिकल कलेजमा १ जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जना, विराट मेडिकल कलेजमा ४ जना र दमक अस्पतालमा ७ जनाको उपचार भइरहेको छ ।

धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

प्रदर्शनका क्रममा भएको हिंसाले मुलुकभर तनावको स्थिति सिर्जना भएको छ । सरकारले घटनाको छानबिन र स्थिति नियन्त्रणका लागि आवश्यक कदम चाल्ने बताएको छ ।

प्रकाशित मिति: सोमबार, भदौ २३, २०८२  २०:३७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय