सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज । वीरगंज महानगरपालिकाले हैजा, आउँ, झाडापखाला तथा अन्य पानीजन्य रोग नियन्त्रणका लागि सञ्चालन गरेको जनचेतना अभियान आज पाँचौं दिन पनि निरन्तर जारी रह्यो।
महानगरका स्वास्थ्यकर्मीहरूले विभिन्न वडामा घर–घर पुगेर स्थानीयलाई आवश्यक जानकारी र सन्देश दिइरहेका छन्।
जनस्वास्थ्य प्रवर्द्धन शाखाका प्रमुख राजु प्रसाद साहका अनुसार हाल महानगर क्षेत्रमा पानीजन्य रोगको जोखिम न्यूनीकरण गर्नका लागि नगरवासीलाई सचेत बनाउन विशेष अभियान चलाइएको हो।
उनका अनुसार स्वास्थ्यकर्मीहरूले घरधुरीमै पुगेर खानपान, सरसफाइ र खानेपानीको सुरक्षा सम्बन्धी व्यवहारगत परिवर्तनका उपायहरूबारे सुझाव दिइरहेका छन्।
स्वास्थ्यकर्मीको सन्देश अभियान अन्तर्गत नगरवासीलाई : खानेपानी उमालेर वा क्लोरिन (पियुष) प्रयोग गरी मात्र पिउन, धारा र शौचालयबीच आवश्यक दुरी कायम गर्न, नियमित रूपमा साबुनपानीले हात धुने बानी बसाल्न, वरिपरि सरसफाइमा विशेष ध्यान दिन आदि आग्रह गरिएको छ।
महानगरले केही दिनयता अस्पतालहरूमा झाडापखाला र हैजाका बिरामी बढ्न थालेपछि जोखिम नियन्त्रणका लागि स्वास्थ्य शिक्षा र सरसफाइ सशक्तिकरण कार्यक्रमलाई प्राथमिकतामा राखेको छ।
वडा स्तरमा खटिएका टोलीले बिहान–बेलुका टोलटोलमा पुगेर सूचनामूलक पम्प्लेट वितरण, प्रत्यक्ष संवाद र सरसफाइ अवलोकनसमेत गरिरहेका छन्।
जनस्वास्थ्य शाखाका प्रमुख साहले भन्नुभयो, “सुरक्षित पानी र सरसफाइ हैजा नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय हो। नगरवासीले थोरै लापरबाही गर्दा ठूलो सङ्क्रमण फैलिन सक्छ। त्यसैले हामी सबैले सावधानी अपनाउनुपर्छ।”
महानगरले स्वास्थ्य संस्था, विद्यालय र स्थानीय समुदायसँग सहकार्य गर्दै आगामी दिनहरूमा अझ व्यापक रूपमा जनचेतना कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ।