समसामयिक :

वीरगंजका मेयर विद्यार्थीको हौसला बढाउन कक्षा कोठामा

सोमबार, वैशाख ३१, २०८१

वीरगंज । वीरगंज महानगरपालिकाले ‘कक्षा कोठामा मेयर’ कार्यक्रमको शुभारम्भ गरेको छ ।

महानगरपालिका–४ विर्तामा रहेको त्रिजुद्ध माध्यमिक विद्यालयबाट उक्त कार्यक्रमको शुभारम्भ गरिएको हो ।

कार्यक्रममा वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले कक्षा कोठामै पुगेर विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउन मोटिभेसनल कक्षा लिँदै अध्ययनलाई मुख्य केन्द्रमा राखेर अघि बढ्नु पर्नेमा जोड दिनुभयो ।

आफ्ना अग्रजको योगदानको सम्मान गर्दै शिक्षा प्रदान गर्ने गुरुहरुको सम्मानमा कमी नल्याउन पनि उहाँको जोड थियो । 

यसै शैक्षिक सत्रबाट विद्यालयमा डिजिटल कक्षा समेत संचालन गरेको महानगरले त्यसको उपयोगिता र प्रभावकारिताका विषयमा समेत मेयर सिंहले अवलोकन गर्नुभयो । 

विद्यार्थीहरुलाई उत्प्रेरणा बढाउन उहाँले हप्ताको एक दिन विभिन्न विद्यालयमा पुगेर ‘कक्षा कोठामा मेयर’ कार्यक्रममार्फत एउटा कक्षा लिन लाग्नु भएको हो ।  

मेयर सिंहले कक्षा १० का विद्यार्थीको कक्षामै पुगेर उनीहरुलाई उत्प्रेरणा दिँदा विद्यार्थीलाई अध्ययनका लागि झनै हौसला मिलेको त्रिजुद्ध मा.वि.का प्रधानाध्यापक नविन मिश्रले बताउनुभयो । 

कक्षामा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मातृका भट्टराई, शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्णले समेत विद्यार्थीहरुको हौसला बढाउन कक्षा लिनु भएको थियो । 

मेयर सिंहले विद्यालयको अनुगमन समेत गर्नुहुँदै त्यहाँ उपलब्ध साधन स्रोतको स्थिति तथा प्रयोगको अवस्थाको बारेमा समेत जानकारी लिनुभएको थियो ।

यस्तै कक्षा पाँचका विद्यार्थीलाई मेयर सिंहले पुस्तक समेत हस्तान्तरण गर्नुभएको थियो ।  

महानगरपालिकाले यसै शैक्षिक सत्रबाट यहाँका विभिन्न ३० वटा विद्यालयमा नेपाली भाषा सिकाईका लागि डिजिटल कक्षा समेत संचालन गर्न सुरु गरेको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख ३१, २०८१  २२:१५
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय