समसामयिक :

संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरु हुँदै

शुक्रबार, वैशाख २८, २०८१

वीरगञ्ज । संघीय संसदको बजेट अधिवेशन आजदेखि शुरु हुँदैछ । अधिवेशनको पहिलो बैठक आज दिउँसो दुई बजे संघीय संसद भवन नयाँबानेश्वरमा बस्नेछ ।

आज पहिलो दिनको बैठक भएकाले राष्ट्रपति कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरण सम्बन्धी पत्र र प्रधानमन्त्री कार्यालयबाट प्राप्त कार्यभार थप सम्बन्धी व्यहोराको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउने कार्यसूची छ । यसैगरी सभामुखले बैठकको अध्यक्षता गर्ने सदस्यहरुको मनोनयनको जानकारी पनि गराउनेछन् । 

त्यसपछि अधिवेशन प्रारम्भको अवसरमा दलीय आधारमा सांसदहरुले बैठकलाई सम्बोधन गर्ने छन् । विगतमा बजेट अधिवेशनमा प्रि–बजेट छलफल हुने गरेकामा यस वर्ष बजेटका प्राथमिकता र सिद्धान्तमा हिउँदे अधिवेशनमै छलफल पुरा भइसकेको छ ।संसदमा अवरोध नहोस भनेर सभामुख घिमिरेले संसदमा प्रतिनिधित्व गरेका प्रमुख पाँच राजनीतिक दलका शीर्ष नेतासँग गत मंगलबार बैठक गरेका थिए । 

तथापी सहकारीको रकम हिनामिना प्रकरणमा मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठनको माग गर्दै आएको नेपाली काँग्रेसलगायतका अन्य दलका नेताहरु आ–आफ्नै अडानमा बसेपछि बैठक निष्कर्षविहीन भएको थियो ।

गत हिउँदे अधिवेशनमा पनि प्रमुख विपक्षी दल काँग्रेसले संसदीय समिति गठनको माग गर्दै लामो समयसम्म संसद् अवरोध गरेपछि सरकारले हिउँदे अधिवेशन अन्त्य गरेको हो ।

प्रकाशित मिति: शुक्रबार, वैशाख २८, २०८१  १३:३७
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय