Dashain Banner
Dashain Banner
नेभिगेशन
समाज
समसामयिक :

लोकल रक्सी र गाँजा खेती खुलाउन कांग्रेस सांसदको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसकी सांसद विष्णुकुमारी सापकोटाले लोकल रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने बताएकी छन् ।

शुक्रबार राष्ट्रिय सभामा प्रादेशिक समयमा बोल्दै उनले नेपालले आफ्नै स्रोत र साधनको प्रयोग गरेर आर्थिक उपार्जन गर्न सक्ने बताइन् । यसका लागि स्थानीय रक्सीलाई करको दायरामा ल्याउने र गाँजा खेती खुलाउनुपर्ने उनको धारणा छ ।

पहाडी क्षेत्रमा उत्पादन हुने कोदोको रक्सी औषधिको रुपमा प्रयोग हुने उनले बताइन् । तर, राज्यले त्यस्ता रक्सी जफत गरेर नष्ट गर्ने गरेको भन्दै उनले विरोध जनाइन् ।

‘पहाडका हिमाली क्षेत्रमा प्रशस्त मात्रामा कोदो उत्पादन हुन्छ । कोदाको रक्सी बन्छ । त्यो कोदाको पियोर रक्सी हात खुट्टा बाथ भएको मानिसले मालिस गर्‍यो भने निको हुन्छ’ उनी थप्छिन्, ‘तर, स्थानीय प्रशासनले त्यस्तो (लोकल रक्सी) भाँडा फालिदिन्छ ।’

कतिपय महिलाहरुले रक्सी बनाएर जीविकोपार्जन समेत गर्ने गरेको भन्दै उनले यसलाई करको दायरामा ल्याउने नीति लिन सरकारलाई आग्रह गरिन् ।

साथै, गाँजा खेती खुलाउने उनको प्रस्ताव छ । गाँजा औषधिको रुपमा प्रयोग हुने, गाँजाको बोट धागोका लागि प्रयोग हुने उल्लेख गर्दै उनले भनिन्, ‘गाँजा हाम्रो सम्पत्ति हो । यसको पहिचान गरेर धेरै रोजगारी दिन सक्छौं । आर्थिक आम्दानी गर्न सक्छौं ।’

मरुभूमिजस्ता अरबका देशहरु आफैंसँग भएको पेट्रोलियम पदार्थको प्रयोग गरेर धनी भएको उल्लेख गर्दै उनले नेपालले पनि आफूसँग भएका साधन र स्रोतको उपयोग गर्नुपर्नेमा जोड दिइन् । यसो गर्न सकिए रोजगारी सिर्जना गर्न सकिने र युवाहरुको विदेश पलायन समेत रोक्न सकिने बताइन् ।

अन्यथा, गाउँघर रित्तियो र रहेकाहरु भोकभोकै मर्ने अवस्था छ भनिरहनुको अर्थ नहुनेको उनको धारणा छ ।अनलाईन खबर

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्