समसामयिक :

चुहावट नियन्त्रणमा कडाई गरेपछि राजस्व कार्यालय पथलैयाको राजस्व वृद्धि

शुक्रबार, फागुन १८, २०८०

बारा– राजस्व अनुसन्धान कार्यालय पथलैयाको राजस्व संकलनमा वृद्धि देखिएको छ ।

अघिल्लो आर्थिक वर्षको ६ महिनामा संकलित राजस्व भन्दा चालु आर्थिक वर्षको सोही अवधिमा करिब ३७ लाख रुपैया बढी राजस्व संकलन भएको देखिएको हो ।

कार्यालयका अनुसार चालु आर्थिक वर्षको ६ महिनामा राजस्व चुहावट तर्फ १ करोड ५७ लाख ४० हजार रुपैया संकलन गरिएको छ ।

सोही अवधिमा गत आर्थिक वर्ष १ करोड २० लाख १० हजार रुपैया संकलन भएको थियो ।

चुहावट तर्फको राजस्व मात्र वृद्धि नभई भिसिटिएस जरिवाना तर्फ समेत वृद्धि देखिएको छ ।

चालु आर्थिक वर्षको फागुन १७ सम्ममा ५४ लाख ९० हजार रुपैया भिसिटिएस जरिवाना तर्फ संकलन गरिएको कार्यालयको अभिलेखमा छ ।

सोही अवधिमा गत आवमा भिसिटिएस जरिवाना तर्फ ४४ लाख ६० हजार रुपैया मात्र संकलन भएको थियो ।

प्रमुख राजस्व अधिकृत प्रेम प्रसाद देवकोटाले राजस्व चुहावट नियन्त्रण कडाईका साथ लागु गरिएकाले राजस्व संकलनमा वृद्धि देखिएको बताए ।

राजस्व चुहावट नियन्त्रणको कार्यमा सहजीकरण र प्रभावकारिता ल्याउन यस कार्यालयले कार्य सञ्चालन गर्दै आएको छ ।

‘राजस्व चुहावट हुन नदिन, नियन्त्रण र रोकथाम कार्यलाई प्रभावकारी बनाउने नीति अनुरुप काम गरिरहेका छौ,’ प्रमुख अनुसन्धान अधिकृत देवकोटा भन्छन्, ‘अघिल्लो अवधिको तुलनामा संकलित राजस्व अहिले वृद्धि हुनु त्यसको नतिजा हो ।’

वीरगन्जबाट ढुवानी भई अन्यत्र जाने वस्तुको चेकजांच र छापामारी मार्फत कार्यालय राजस्व संकलन गर्ने गरेको छ ।

भन्सार कार्यालयबाट न्युन बिजकीकरणमा जांचपास भएका वस्तुको सूचनाको आधारमा समेत राजस्व कार्यालयले चेकजाच गरि जरिवाना गर्ने गरेको छ ।

’ आएका सूचनालाई स्क्रीनिङ गरि मात्र काम गरेका छौ,’ उनले भने, ’ राजस्व चुहावट नियन्त्रणमा प्रभावकारी रुपले काम गरेका छौ । यसका लागि गस्ती समेत परिचालन गरिएको छ ।’

प्रकाशित मिति: शुक्रबार, फागुन १८, २०८०  १०:१८
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय