नेभिगेशन
समाज
गत वर्ष यस अवधिमा ६५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो

देशैभर धान रोपाइँ आधा सकियो, गत वर्षभन्दा १२ प्रतिशत कम

असार चौथो सातासम्म देशभर कुल ५३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ

वीरगञ्ज। असार चौथो सातासम्म देशभर कुल ५३ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । कृषि तथा पशुपक्षी विकास मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरणअनुसार यस वर्षको रोपाइँ गत वर्षको यसै अवधिको तुलनामा १२ प्रतिशतले कम हो । गत वर्ष यस अवधिमा ६५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको थियो ।

यस वर्ष २९ असारसम्म ७ लाख १८ हजार ५७६ हेक्टर क्षेत्रफलमा रोपाइँ सकिएको छ । यस वर्ष १३ लाख ५७ हजार ८१६ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने सरकारी अनुमान छ । यस अवधिमा सबैभन्दा धेरै धान रोपाइँ सुदूरपश्चिम प्रदेशमा भएको छ ।

सो प्रदेशमा ८५ प्रतिशत भूभागमा रोपाइँ सकिएको मन्त्रालयका प्रवक्ता प्रकाशकुमार सञ्जेलले बताए । यस्तै, सबैभन्दा कम रोपाइँ मधेश प्रदेशमा भएको छ । धान उत्पादनको भण्डार मानिने यस प्रदेशमा यस वर्ष २८ प्रतशित क्षेत्रफलमा मात्रै रोपाइँ सकिएको छ ।

कर्णाली प्रदेशमा ७० प्रतिशत रोपाइँ भएको छ भने बागमती प्रदेशमा ४५ प्रतिशत क्षेत्रफलमा रोपाइँ सकिएको छ । लुम्बिनी प्रदेशमा ६४ प्रतिशत रोपाइँ हुँदा गण्डकी प्रदेशमा ४७ प्रतिशत क्षेत्रफलमा मात्रै रोपाइँ भएको छ ।

देशैभर मनसुन उपयुक्त भएको र रोपाइँ जारी रहेका कारण यस वर्ष धान खेती हुने सबै क्षेत्रमा रोपाइँ हुने अनुमान मन्त्रालयको छ । रोपाइँ ढिलाइ हुनुमा मनसुन केही दिन ढिला सुरु हुनु नै प्रमुख कारण भएको मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्