वीरगंज -वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष २०८३/०८४ का लागि संशोधित कुल बजेट ४ अर्ब २१ करोड ३४ लाख ६९ हजार रुपैयाँ कायम गरेको छ।
नगर सभाको विशेष २१औँ अधिवेशनमा नगर प्रमुख राजेशमान सिंहले प्रस्तुत गरेको संशोधित बजेट तथा कार्यक्रममा महानगरको पूर्वाधार, शिक्षा, स्वास्थ्य, यातायात, वातावरण तथा सहरी सौन्दर्यीकरणलाई प्राथमिकता दिइएको छ।
महानगरपालिकाले यसअघि चालु आर्थिक वर्षका लागि ४ अर्ब ४२ करोड ३४ लाख ६९ हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो।
तर आन्तरिक राजस्व परिचालनमा आएको संकुचन तथा संघीय सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान र राजस्व बाँडफाँडबाट अपेक्षाअनुसार स्रोत प्राप्त हुन नसकेपछि बजेट संशोधन गरिएको महानगरले जनाएको छ।
संशोधित बजेटमध्ये चालुतर्फ २ अर्ब ३३ करोड १६ लाख ८५ हजार रुपैयाँ, पुँजीगततर्फ १ अर्ब ८१ करोड १७ लाख ८४ हजार रुपैयाँ र वित्तीय व्यवस्थातर्फ ७ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
महानगरको मुख्य केन्द्र घण्टाघर नजिक रहेको बीपी उद्यानलाई आधुनिक, आकर्षक, हरियालीयुक्त तथा बहुउपयोगी सहरी उद्यानका रूपमा विकास गरी चालु आर्थिक वर्षमै सञ्चालनमा ल्याउने योजना अघि सारिएको छ।
उद्यानमा हिँड्ने बाटो, बाल उद्यान, ज्येष्ठ नागरिक विश्राम केन्द्र तथा हरियाली विस्तार गरिने बजेटमा उल्लेख छ।
त्यस्तै, महानगरलाई रातको समयमा सुरक्षित तथा आकर्षक बनाउन सञ्चालन हुँदै आएको उज्यालो वीरगञ्ज अभियानलाई निरन्तरता दिइने भएको छ।
मुख्य सडक, चोक तथा भित्री बस्तीमा स्मार्ट एलइडी तथा हाइमास्ट बत्ती जडानलाई तीव्रता दिने, जडान भएका बत्तीको नियमित अनुगमन गर्ने र तत्काल मर्मतका लागि द्रुत मर्मत संयन्त्र परिचालन गर्ने योजना छ।
वीरगञ्जलाई स्वच्छ, हरित र आकर्षक सहरका रूपमा विकास गर्न सडकका बीचका भागमा हरियाली प्रवर्द्धन, खुला स्थानमा वातावरणमैत्री पार्क निर्माण, अव्यवस्थित तार तथा होर्डिङ बोर्डको व्यवस्थापन र ऐतिहासिक सम्पदा तथा पोखरीको सौन्दर्यीकरण गर्ने कार्यक्रम पनि बजेटमा समेटिएको छ।
महानगरले सार्वजनिक विद्यालयको दरबन्दी संरचनालाई विद्यार्थी संख्यासँग मिलाउने नीति अघि सारेको छ।
साथै भोजपुरी भाषा, संस्कृति, साहित्य र कलाको संरक्षण तथा प्रवर्द्धनका लागि भोजपुरी प्रतिष्ठानलगायत सम्बन्धित संस्था र व्यक्तिको सक्रियतामा कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।
स्वास्थ्यतर्फ आधारभूत स्वास्थ्य केन्द्र, योग शिविर, ध्यान केन्द्र, आरोग्य केन्द्र, खुला व्यायामशाला तथा मनोरञ्जन स्थललाई थप व्यवस्थित र प्रभावकारी बनाउने योजना छ।
युवामा बढ्दो दुर्व्यसन नियन्त्रणका लागि सम्बन्धित साझेदार संस्थासँग सहकार्य गरी कार्यक्रम सञ्चालन गर्ने पनि बजेटमा उल्लेख गरिएको छ।
वीरगञ्ज महानगर क्षेत्रका नागरिकलाई नियमित, सुरक्षित, सहज र सर्वसुलभ यातायात सेवा उपलब्ध गराउन निजी क्षेत्रसँगको सहकार्यमा नगर बस सेवा सञ्चालन गर्ने योजना समेत संशोधित बजेट तथा कार्यक्रममा राखिएको छ।




