वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाको एक (Casino) मा नेपालीहरू प्रवेश गरी जुवा खेलिरहेको अवस्थामा प्रहरीले इलाका प्रहरी कार्यालय पोखरियाका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेलसहित ८ जनालाई नियन्त्रणमा लिएको छ।
जिल्ला प्रहरी कार्यालय पर्साले जारी गरेको प्रेस विज्ञप्तिअनुसार, भदौ ५ गते राति करिब १०ः३० बजे क्यासिनोमा नेपालीहरू प्रवेश गरी जुवा खेलिरहेको सूचना प्राप्त भएपछि प्रहरी टोलीले क्यासिनोमा पुगेर उनीहरूलाई नियन्त्रणमा लिएको प्रवक्ता प्रहरी नायव उपरीक्षक डिएसपी चक्रबहादुर मल्लले जानकारी दिए ।
नियन्त्रणमा लिइएकामध्ये जुवा खेलिरहेको अवस्थामा ४ जना नेपाली र नेपालीहरूलाई क्यासिनोमा प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न ४ जना क्यासिनो कर्मचारी रहेका छन्।
जुवा खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएकामा सखुवाप्रसौनी गाउँपालिका–६ का ३६ वर्षीय जसवन्त यादव, ३० वर्षीय चन्दन सहनी, वीरगञ्ज महानगरपालिका–११ का ३९ वर्षीय ओमप्रकाश बैठा (बैठा निम्बस प्रालीको उच्च तहका कर्मचारी हुन)तथा पोखरिया इलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक प्रदीप पौडेल रहेको जिल्ला प्रहरी कार्यालय पर्सा स्रोतले जनाएको छ।
त्यस्तै, नेपालीहरूलाई क्यासिनो प्रवेश गराई जुवा खेलाउने कार्यमा संलग्न रहेको आरोपमा वीरगञ्ज–१४ का विजयकुमार पटेल, वीरगञ्ज–२५ का दिनेशकुमार पटेल, महोत्तरी पिपरा गाउँपालिका–५ का जयदेव साह र वीरगञ्ज–१२ का प्रदेशी साहलाई नियन्त्रणमा लिइएको विज्ञप्तिमा उल्लेख छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ।


