नेभिगेशन
समाज
समसामयिक :

बाढी–पहिरो पीडितप्रति प्रदीप यादवको समवेदना, प्रभावितको उद्धार र पुनर्स्थापनामा जुट्न आग्रह

वीरगञ्ज । रसुवा, नुवाकोट र धादिङमा बाढी तथा पहिरोले निम्त्याएको जनधनको ठूलो क्षतिप्रति नेपाल सरकारका पूर्वमन्त्री प्रदीप यादवले गहिरो दुःख व्यक्त गरेका छन्।

पूर्वमन्त्री यादवले प्राकृतिक विपत्तिका कारण रसुवामा भएको ठूलो जनधनको क्षति तथा नुवाकोट र धादिङमा समेत भएको मानवीय क्षतिप्रति दुःख व्यक्त गर्दै पीडित परिवारप्रति हार्दिक समवेदना प्रकट गरेका छन्।

उनले विपत्तिका कारण धेरै परिवारले आफ्ना घरबार गुमाएको, प्रियजन गुमाउनुपरेको र कतिपय अझै आफ्ना आफन्तको खोजी तथा खबरको प्रतीक्षामा रहेको उल्लेख गरेका छन्।

“प्रकृतिको एउटा प्रहारले एकैछिनमा कति परिवारको संसार बदलिदिएको छ,” यादवले भनेका छन्, “आफ्नो मान्छे सुरक्षित रहेको एउटा खबर सुन्न पाउनु पनि अहिले प्रभावित परिवारका लागि सबैभन्दा ठूलो आशा बनेको छ।”

उनले दिवंगतहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गरेका छन्।

साथै बेपत्ता तथा प्रभावित नागरिकहरूको शीघ्र उद्धार, राहत र सुरक्षित पुनर्स्थापनाको कामना गरेका छन्।

नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा सम्बन्धित निकायहरू उद्धार र राहत कार्यमा जुटिरहेको उल्लेख गर्दै यादवले राहतसँगै पुनर्निर्माणको कार्यलाई पनि यथाशीघ्र तीव्र बनाउन आग्रह गरेका छन्।

“पीडित परिवारहरूले सकेसम्म चाँडो आफ्नो जीवन पुनः सामान्य बनाउन सकून् भन्ने उद्देश्यका साथ पुनर्निर्माणलाई प्राथमिकताका साथ अगाडि बढाउन आवश्यक छ,” उनले आग्रह गरेका छन्।

पूर्वमन्त्री यादवले वर्तमान विपत्तिले सुरक्षित घर, परिवारसँग बिताएको समय र प्रियजनको साथ नै जीवनका सबैभन्दा ठूला सौभाग्य भएको पुनः स्मरण गराएको बताएका छन्।

उनले रसुवा, नुवाकोट, धादिङलगायत सम्पूर्ण प्रभावित परिवारलाई यो अपार दुःख सहने शक्ति मिलोस् भन्दै भगवानसँग प्रार्थना गरेका छन्।

“नेपाल सुरक्षित रहोस्,” उनले शुभकामना व्यक्त गरेका छन्।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्