वीरगञ्ज- नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगञ्जमा एम्बुलेन्स चालकहरूको आकस्मिक स्वास्थ्य सेवा सम्बन्धी क्षमता अभिवृद्धिका लागि आधारभूत जीवनरक्षा (BLS) तालिम सम्पन्न भएको छ।
GTA Foundation को सहकार्यमा आयोजित तालिममा ३४ जना एम्बुलेन्स चालकको सहभागिता रहेको थियो।
अस्पताल पुग्नुअघि नै बिरामीलाई आवश्यक प्राथमिक उपचार तथा जीवनरक्षासम्बन्धी सेवा प्रभावकारी रूपमा प्रदान गर्न सक्ने दक्षता विकास गर्ने उद्देश्यले तालिम सञ्चालन गरिएको हो।
तालिममा आकस्मिक अवस्थामा बिरामीको प्रारम्भिक मूल्याङ्कन, हृदय–फोक्सो पुनर्जीवन (CPR), प्राथमिक उपचार तथा आधारभूत जीवनरक्षाका विभिन्न व्यवहारिक सीपबारे प्रशिक्षण दिइएको थियो।
GTA Foundation को “नेपालमा एम्बुलेन्स चालकहरूका लागि चरणबद्ध आधारभूत जीवनरक्षा तालिमको प्रभावकारिता” सम्बन्धी अध्ययनअन्तर्गत कार्यक्रम सञ्चालन गरिएको हो।
अध्ययनमार्फत एम्बुलेन्स चालकहरूको ज्ञान, दक्षता र व्यवहारिक सीप अभिवृद्धि गरी आकस्मिक स्वास्थ्य सेवाको गुणस्तर सुधार गर्ने लक्ष्य राखिएको छ।
मंगलबार बिहान ९ः३० बजेदेखि १२ः३० बजेसम्म नेशनल मेडिकल कलेजको सभाहलमा भएको कार्यक्रममा GTA Foundation का इन्टरभेन्सन तथा अनुसन्धान विकास अधिकृत एवं प्रशिक्षक ललिता अवाल, अनुसन्धान सहायक रुबी श्रेष्ठ र ललिता कुँवरको सहभागिता रहेको थियो।
कार्यक्रम नेशनल मेडिकल कलेजका अस्पताल निर्देशक डा. इशरत जहानको नेतृत्वमा सञ्चालन भएको थियो।
तालिममा GTA Foundation का प्रशिक्षकसँगै नेशनल मेडिकल कलेजबाट BLS-ToT तालिम सम्पन्न गरेका नर्सिङ इन्चार्ज गोमा के.सी. र दुर्गा चापागाईंले समेत सहजीकरण गरेका थिए।
तालिम सम्पन्न गरेका सहभागी एम्बुलेन्स चालकहरूलाई प्रमाणपत्रसमेत प्रदान गरिएको थियो।
एम्बुलेन्स चालक आकस्मिक स्वास्थ्य सेवाको महत्वपूर्ण सम्पर्क बिन्दु भएकाले उनीहरूको दक्षताले बिरामीको प्रारम्भिक व्यवस्थापनदेखि सुरक्षित रूपमा अस्पतालसम्म पुर्याउने कार्यमा महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
नेशनल मेडिकल कलेजले स्वास्थ्य सेवाको गुणस्तर सुधारका लागि यस्ता व्यावहारिक तथा सीपमूलक तालिमलाई निरन्तरता दिने जनाएको छ।
GTA Foundation र मेडिकल कलेजबीचको सहकार्यले अस्पताल पुग्नुअघिको आकस्मिक स्वास्थ्य सेवाको प्रभावकारिता बढाउन सहयोग पुग्ने विश्वास गरिएको छ।





