नेभिगेशन
समाज
समसामयिक :

हरित र सुन्दर वीरगन्ज निर्माणका लागि वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ : का.बा. नगर प्रमुख इम्तियाज आलम

वीरगन्ज । वीरगन्ज महानगरपालिकाले वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा सहरलाई स्वच्छ, सुन्दर र वातावरणमैत्री बनाउने उद्देश्यका साथ सुरु गरेको वृहत् वृक्षारोपण अभियानलाई तीव्रता दिएको छ।

यसै अभियानअन्तर्गत महानगरपालिकाको आयोजनामा वीरगन्ज बसपार्क परिसरमा एक वृहत् वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ।

​कार्यक्रममा बोल्दै वीरगन्ज महानगरपालिकाका कार्यवाहक का.बा.नगर प्रमुख  इम्तियाज आलमले बढ्दो सहरीकरण र प्रदूषणलाई न्यूनीकरण गर्न वृक्षारोपणको कुनै विकल्प नरहेको बताउनुभयो।

उहाँले वीरगन्जलाई 'हरित र सुन्दर' सहरको रूपमा विकास गर्न यस अभियानलाई महानगरका अन्य क्षेत्रहरूमा पनि निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभयो।

का.बा.नगर प्रमुख आलमले भन्नुभयो, "हाम्रो मुख्य लक्ष्य भनेको वीरगन्जलाई प्रदूषणमुक्त र बस्नयोग्य सहर बनाउनु हो।

हरित र सुन्दर वीरगन्ज निर्माणका लागि हामी यो वृक्षारोपण अभियानलाई निरन्तरता दिन्छौँ ।यसमा सम्पूर्ण नगरवासीको साथ र सहयोगको अपेक्षा राखेका छौँ।"

बसपार्क जस्तो अत्यधिक भीडभाड र सवारीसाधनको चाप हुने क्षेत्रलाई व्यवस्थित र हरियालीयुक्त बनाउन त्यहाँ विभिन्न प्रजातिका छायादार तथा सौन्दर्यवर्धक बिरुवाहरू रोपिएका छन्।

उक्त वृक्षारोपण कार्यक्रममा  महानगरपालिकाका जनप्रतिनिधिहरू, कर्मचारी, स्थानीय युवा क्लब, टोल सुधार समितिका पदाधिकारीहरू, सुरक्षाकर्मी तथा आम नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको थियो।

महानगरपालिकाले बिरुवा रोप्ने मात्र नभई रोपिएका बिरुवाहरूको संरक्षण र हुर्काउने जिम्मा पनि स्थानीय समुदायसँगको सहकार्यमा अघि बढाउने नीति लिएको जनाएको छ।

आगामी दिनहरूमा महानगरका अन्य वडाहरू, खाली सार्वजनिक जग्गाहरू तथा सडकका किनारहरूमा पनि यस्तै प्रकारका वृक्षारोपण कार्यक्रमहरू आयोजना गरिने महानगर पालिकाको योजना रहेको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्