नेभिगेशन
समाज
समसामयिक :

नागरिकको भरोसा जित्दै अपराध नियन्त्रण गर्ने एसपी भट्टराईको प्रतिबद्धता

वीरगंज- पर्साका नवनियुक्त प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) पवन कुमार भट्टराईले जिल्लाको शान्ति सुरक्षा र नागरिकको सुरक्षालाई पहिलो प्राथमिकतामा राखेर काम गर्ने बताएका छन्।

जिल्ला प्रहरी कार्यालय पर्सामा आयोजित पत्रकार भेटघाट कार्यक्रममा एसपी भट्टराईले पर्सामा शान्ति, सुरक्षा र अमनचयन कायम गर्न प्रहरी संगठनले आफ्नो तर्फबाट कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता व्यक्त गरे।

उनले नागरिकले सुरक्षित वातावरणमा आफ्नो दैनिक जीवनयापन गर्न सक्ने अवस्था सिर्जना गर्नु प्रहरीको मुख्य जिम्मेवारी रहेको बताए।

पर्सा भारतसँग सीमा जोडिएको जिल्ला भएकाले यहाँ हुने सीमा अपराध तथा अवैध गतिविधि नियन्त्रणलाई पनि आफूले विशेष प्राथमिकतामा राखेको एसपी भट्टराईले बताए।

सीमा क्षेत्रमा हुने अपराध रोकथामका लागि योजनाबद्ध रूपमा प्रहरी परिचालन गरिने र आवश्यकताअनुसार सम्बन्धित निकायसँग समन्वय गरेर काम अघि बढाइने उनको भनाइ छ।

उनले सीमाबाट हुने चोरी–तस्करी, लागूऔषध ओसारपसार, अवैध कारोबार तथा अन्य आपराधिक गतिविधिमाथि निगरानी बढाइने बताए।

अपराध नियन्त्रणका लागि प्रहरीको उपस्थिति र सक्रियता बढाउनुका साथै सूचना संकलन र अनुसन्धानलाई प्रभावकारी बनाइने उनले स्पष्ट पारे।

एसपी भट्टराईले प्रहरी र नागरिकबीचको सम्बन्ध अझ मजबुत बनाउन आफूले विशेष ध्यान दिने बताए।

नागरिकले प्रहरीसमक्ष आफ्ना समस्या तथा गुनासा सहज रूपमा राख्न सक्ने वातावरण निर्माण गरिने उनको भनाइ छ।

पत्रकार भेटघाटमा उनले प्रहरीको कामकारबाही लाई थप प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउने प्रतिबद्धता समेत जनाए।

उनले पर्साको सुरक्षा अवस्था सुधार गर्न सबै पक्षको सहयोग आवश्यक रहेको भन्दै सञ्चारकर्मी, स्थानीय तह, नागरिक समाज तथा आम नागरिकसँग सहकार्य गरेर अघि बढ्ने बताए।

उनले अपराध नियन्त्रणसँगै नागरिकको विश्वास जित्ने गरी प्रहरी सेवा प्रवाह गर्ने र जिल्लामा सुरक्षित तथा शान्त वातावरण कायम गर्न निरन्तर प्रयास गरिने प्रतिबद्धता व्यक्त गरे।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्