वीरगंज। उपभोक्ताले विश्वासका साथ रोज्ने आधिकारिक सर्भिस सेन्टरमै सेवा प्रवाहप्रति गम्भीर प्रश्न उठ्ने घटना वीरगंजमा सार्वजनिक भएको छ ।
वीरगंजको माइस्थानस्थित सामसुङ कम्पनीको आधिकारिक सर्भिस सेन्टरमा मोबाइल मर्मतका नाममा सेवाग्राहीलाई अनावश्यक रूपमा पटक–पटक धाउन बाध्य पारिएको, समयमै सेवा नदिइएको तथा मर्मतका क्रममा मोबाइलको थप क्षति गरिएको आरोप लागेको हो ।
वीरगंज महानगरपालिका–२३ रामगढवा निवासी अशेसर पटेलले आफ्नो ‘सामसुङ ग्यालेक्सी एस–२३ अल्ट्रा’ मोबाइलको डिस्प्ले मर्मत गराउन करिब एक साताअघि उक्त सर्भिस सेन्टरमा बुझाएका थिए ।
तर, तोकिएको समयमै मोबाइल मर्मत गरेर नदिई प्रत्येक दिन ‘भोलि आउनुस्’ भन्दै झुलाइएको उनको गुनासो छ ।
पटेलका अनुसार मोबाइलको डिस्प्ले परिवर्तन गर्न दिइएको भएपनि मर्मत प्रक्रियाकै क्रममा मोबाइलको पछाडिको सिसा (ब्याक ग्लास) समेत फुटाइएको छ । पहिले नभएको क्षति सर्भिस सेन्टरमै भएको भन्दै उनले त्यसप्रति गम्भीर आपत्ति जनाएका छन् ।
उनले एक सातासम्म दैनिकजसो सर्भिस सेन्टर पुग्दा पनि कहिले पार्टपुर्जा नआएको, कहिले काम भइरहेको र कहिले भोलिपल्ट लिन आउन आग्रह गरिएको बताए । पटक–पटक आश्वासन दिए पनि अन्ततः मोबाइल तयार नभएको उनको भनाइ छ । घटनाले शुक्रबार नयाँ मोड लिएको बताइएको छ ।
पटेलका अनुसार बिहान करिब १० बजे सर्भिस सेन्टरबाट फोन गरी मोबाइल मर्मत भइसकेको र आएर लैजान आग्रह गरिएको थियो । व्यक्तिगत कामका कारण उनी साँझ करिब ४ बजे सर्भिस सेन्टर पुगेका थिए । तर त्यहाँ पुग्दा मोबाइल अझै मर्मत भइनसकेको पाइएको उनले बताए ।
यति मात्र होइन, आफूलाई फोन गरेर बोलाएपछि मोबाइल लिन जाँदा त्यहाँ कार्यरत मिस्त्रीले उल्टै ‘फोन गर्नेबित्तिकै किन आउनुभएन ? अब भोलि आउनुस’ भन्दै असभ्य व्यवहार र हप्कीदप्की गरेको आरोप पटेलले लगाएका छन् ।
सेवाग्राहीप्रति अपनाइएको यस्तो व्यवहारका कारण दुवै पक्षबीच विवादसमेत भएको बताइएको छ ।
पटेलले आधिकारिक सर्भिस सेन्टरबाट गुणस्तरीय र जिम्मेवार सेवा पाउने अपेक्षा राखेर मोबाइल बुझाएको भएपनि उल्टै समयको बर्बादी, मानसिक तनाव र मोबाइलमा थप क्षति व्यहोर्नुपरेको गुनासो गरेका छन् ।
उनले मर्मतको क्रममा भएको क्षतिको जिम्मेवारी सर्भिस सेन्टरले लिनुपर्ने माग गरेका छन् ।
उनको भनाइअनुसार आधिकारिक सर्भिस सेन्टर भएकै कारण उपभोक्ताले निजी मर्मत पसलभन्दा बढी शुल्क तिर्न तयार हुन्छन् ।
तर, महँगो सेवा लिएर पनि समयमै मर्मत नहुने, सामानको सुरक्षा सुनिश्चित नहुने र सेवाग्राहीसँग सम्मानजनक व्यवहारसमेत नहुने अवस्था चिन्ताजनक भएको उनको टिप्पणी छ ।
घटनापछि पटेलले सर्भिस सेन्टरको सेवा, कर्मचारीको व्यवहार तथा मर्मत प्रक्रियामा देखिएको लापरवाहीबारे सञ्चारकर्मीसमक्ष गुनासो राखेका छन् ।
उनले सम्बन्धित कम्पनी तथा सरोकारवाला निकायले घटनाको छानबिन गरी सेवाग्राहीमाथि भएको अन्यायको समाधान गर्नुपर्ने माग गरेका छन् ।
आधिकारिक सर्भिस सेन्टरहरूले मर्मतका क्रममा ग्राहकको सामान सुरक्षित राख्नु, तोकिएको समयभित्र सेवा उपलब्ध गराउनु तथा मर्मतका क्रममा थप क्षति भए त्यसको जिम्मेवारी लिनु उनीहरूको दायित्व हो ।
यदि सेवाग्राहीका गुनासोलाई आधार मान्ने हो भने यो सेवा प्रवाहमा गम्भीर लापरवाहीको उदाहरण हो ।
यस विषयमा सामसुङको आधिकारिक सर्भिस सेन्टर वा सम्बन्धित व्यवस्थापनको आधिकारिक प्रतिक्रिया भने प्राप्त हुन सकेको छैन ।
घटनाबारे उनीहरूको धारणा प्राप्त भएपछि समाचार अद्यावधिक गरिनेछ ।





