समसामयिक :

नयाँ सार्वजनिक गाडी दर्तामा सरकारको रोक, इलेक्ट्रिक सवारी पनि प्रभावित

शुक्रबार, जेठ ८, २०८३

वीरगञ्ज । बढ्दो वायु प्रदूषण, अत्यधिक ट्राफिक जाम र अव्यवस्थित यातायात प्रणालीलाई कारण देखाउँदै सरकारले देशभर कुनै पनि नयाँ सार्वजनिक सवारी साधनको दर्तामा रोक लगाएको छ ।

निर्णयसँगै अब अर्को व्यवस्था नभएसम्म विद्युतीय (इलेक्ट्रिक) सहितका कुनै पनि नयाँ सार्वजनिक सवारी साधन दर्ता हुने छैनन् ।

यातायात व्यवस्था विभागले बिहीबार सात वटै प्रदेशका सम्बन्धित मन्त्रालय र देशैभरका सबै स्थानीय तहलाई पत्राचार गर्दै नयाँ दर्ता रोक्न निर्देशन दिएको हो ।

विभागले जारी गरेको परिपत्रमा सार्वजनिक यातायातको वैज्ञानिक व्यवस्थापन हुन नसक्दा आवागमनमा कठिनाइ उत्पन्न भएको उल्लेख गरिएको छ ।

इन्धनको बढ्दो मूल्य र सडकमा सवारी साधनको अत्यधिक चापले सिर्जना गरेको असहज परिस्थितिलाई सम्बोधन गर्न र सार्वजनिक सवारीको यथोचित व्यवस्थापन गर्न दर्ता रोक्ने निर्णयमा पुगेको विभागले प्रस्ट पारेको छ ।

विभागले निर्णय ‘सवारी तथा यातायात व्यवस्था ऐन, २०४९’ को दफा २४ को उपदफा (३) मा रहेको कानुनी व्यवस्थामा टेकेर गरेको जनाएको छ ।

उक्त ऐनमा वातावरण प्रदूषण, सवारीको चाप, सडकको स्थिति वा अन्य कारणले सार्वजनिक हितका लागि मनासिब देखेमा विभागले कुनै पनि प्रकारका सवारी साधनको दर्ता रोक्न आदेश दिन सक्ने अधिकार रहेको छ ।

सरकारले सार्वजनिक सवारीको वैज्ञानिक व्यवस्थापन गर्ने मुख्य उद्देश्यले अर्को सूचना जारी नभएसम्मका लागि तत्काल निर्णय लागू हुने स्पष्ट पारेको छ ।

1000223871-1779422814.jpg
 

प्रकाशित मिति: शुक्रबार, जेठ ८, २०८३  १०:००
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय