सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज- वीरगन्जमा रहेको उच्च अदालत जनकपुरको अस्थायी इजलासले नेकपाका केन्द्रीय सदस्य मनोज चौधरीलाई धरौटीमा रिहा गर्न आदेश दिएको छ।
निर्वाचनअघि पक्राउ परेका चौधरीविरुद्धको मुद्दामा जिल्ला अदालत पर्साले दिएको थुनामा राख्ने आदेश उच्च अदालतले बदर गरेको हो।
बिहीबार न्यायाधीश गोकर्ण डाँगी र दुर्गाप्रसाद ढुंगेलको संयुक्त इजलासले चौधरीसँग २ लाख ५० हजार रुपैयाँ धरौटी माग गर्दै रिहा गर्न आदेश दिएको सूचना अधिकारी ध्रुव सुबेदीले जानकारी दिए।
चौधरीमाथि विस्फोटक पदार्थसम्बन्धी र निर्वाचन कसुरको मुद्दा चलिरहेको छ।
निर्वाचनअघि प्रहरीले उनी सवार गाडीबाट शंकास्पद वस्तु फेला पारेपछि उनलाई पक्राउ गरेको थियो।
यसअघि जिल्ला अदालतले चैत १२ मा उनलाई थुनामा पठाउने आदेश दिएको थियो, जसविरुद्ध चौधरी पक्ष उच्च अदालत पुगेको थियो।
उक्त मुद्दाका अन्य प्रतिवादी सत्यनारायण दास थारु र सुरज कार्कीको हकमा भने जिल्ला अदालतकै आदेश सदर भएको छ।
चौधरीको पक्षबाट अधिवक्ताहरूले बहस गरेका थिए भने सरकारका तर्फबाट उपन्यायाधिवक्ताले प्रतिवाद गरेका थिए ।