समसामयिक :

तोकिएको स्थानमा मात्र बजार लगाउन वीरगञ्ज महानगरको निर्देशन

मंगलबार, चैत २४, २०८२

वीरगंज - वीरगञ्ज महानगरपालिकाले नगर क्षेत्रमा बजार व्यवस्थापनलाई व्यवस्थित, सुरक्षित र प्रभावकारी बनाउन तोकिएको स्थानमा मात्र बजार सञ्चालन गर्न आग्रह गरेको छ।

महानगरपालिकाले सूचना जारी गर्दै विभिन्न स्थानमा आवश्यक पूर्वाधारसहित बजार स्थापना गरिएको र सोही स्थानमा व्यापार सञ्चालन गर्न सबै व्यवसायीलाई अनुरोध गरेको जनाएको छ।

महानगरका अनुसार माइस्थान नजिक “मिना बजार कम्प्लेक्स” तथा छपकैया (रेल्वे रोड) क्षेत्रमा तरकारी तथा फलफूलको थोक बजार सञ्चालनमा ल्याइएको छ।

साथै घण्टाघर नजिक वी.पी. उद्यान क्षेत्रमा जथाभावी रूपमा लाग्दै आएको बजारलाई व्यवस्थित गर्न ती बजारलाई छपकैयास्थित तोकिएको स्थानमा स्थानान्तरण गर्ने प्रयास गरिएको छ।

तर केही व्यवसायीहरूले महानगरले तोकेको स्थानमा नगई नयाँ बसपार्क नजिकको खाली जग्गा, पावरहाउस क्षेत्र, मुरली चोक, दुर्गा चोक, इन्द्राहा चोक तथा गीता मन्दिर आसपासमा अनधिकृत रूपमा बजार सञ्चालन गरिरहेको महानगरले जनाएको छ।

महानगरपालिकाले तोकिएको स्थान बाहेक अन्यत्र बजार सञ्चालन नगर्न र हाल जथाभावी सञ्चालन भइरहेका बजार तत्काल बन्द गरी तोकिएको स्थानमा स्थानान्तरण गर्न आग्रह गरेको छ।

आदेशको अवज्ञा गरेमा प्रचलित कानुन अनुसार कडा कारबाही गरिने महानगरपालिकाले चेतावनी दिएको छ।

प्रकाशित मिति: मंगलबार, चैत २४, २०८२  १२:४४
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय