सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज। माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ ।
राष्ट्रिय परीक्षा बोर्डअन्तर्गत परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०) ले आज बिहान ८ बजेदेखि देशभर एकैपटक परीक्षा सुरु भएको जनाएको छ ।
परीक्षाको पहिलो दिन आज अनिवार्य अंग्रेजी विषयको परीक्षा सञ्चालन भइरहेको छ । एसईई परीक्षा चैत २९ गते सम्पन्न हुने छ ।
परीक्षा नियन्त्रक टुकराज अधिकारीका अनुसार यस वर्ष पाँच लाख १२ हजार ४२१ जना विद्यार्थीले एसईई परीक्षा फाराम भरेका थिए ।
तीमध्ये नियमिततर्फ चार लाख ४१ हजार ५६६ जनाले र ग्रेड वृद्धितर्फ ७० हजार ८५५ जना परीक्षार्थी छन् ।परीक्षा दिनेमा छात्राको संख्या बढी छ ।
यस वर्ष दुई लाख ५७ हजार ६१३ छात्रा, दुई लाख ५४ हजार ८०१ छात्र र अन्य सात जना परीक्षामा सहभागी हुनेछन् ।
जापानको एक परीक्षा केन्द्रबाट २३ जनाले परीक्षा दिँदै छन् । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को उत्तरपुस्तिका परीक्षण सम्बन्धित परीक्षा केन्द्रबाटै गर्ने र एक महिनाभित्र नतिजा सार्वजनिक गर्ने जनाएको छ ।
परीक्षाका लागि देशभर एक हजार ९६६ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
परीक्षाको सुरक्षाका लागि प्रत्येक केन्द्रमा १५ जना प्रहरी, एक केन्द्राध्यक्ष, एक सहायक केन्द्राध्यक्ष, २० जना परीक्षार्थी बराबर एक निरीक्षक, १०० परीक्षार्थी बराबर एक कार्यालय सहयोगी र अन्य दुई कर्मचारी खटाइएको छ ।