सोसल मिडिया
हाम्रो बारेमा
पर्सा — पर्सा संसदीय निर्वाचन क्षेत्र नं. १ अन्तर्गत रहेको मनियारी मतदान केन्द्रमा पुगेर नेकपा एमालेका उम्मेदवार प्रदीप यादवले आफ्नो मत खसालेका छन्।
मतदानपछि उनले पर्सा–१ का सम्पूर्ण मतदातालाई आफ्नो मतदान केन्द्रमा पुगेर मताधिकार प्रयोग गर्न हार्दिक अनुरोध गरेका छन्।
मतदान गरेपछि संक्षिप्त प्रतिक्रिया दिँदै यादवले लोकतन्त्रमा मतदान नागरिकको महत्वपूर्ण अधिकार र कर्तव्य भएको बताए।
उनले प्रतिनिधिसभा सदस्यको निर्वाचन देशको भविष्य र नीति निर्धारणसँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गर्दै सबै मतदातालाई जिम्मेवारीपूर्वक मतदानमा सहभागी हुन आग्रह गरेका हुन्।
“प्रतिनिधिसभा निर्वाचनले देशको दिशा तय गर्छ। त्यसैले सबै मतदाताले आफ्नो मताधिकार प्रयोग गरेर लोकतन्त्रलाई बलियो बनाउनुपर्छ,” उनले भने।
निर्वाचन शान्तिपूर्ण र व्यवस्थित ढंगले सम्पन्न गराउन सुरक्षाकर्मी तथा निर्वाचन कर्मचारी खटिएका छन्। बिहानैदेखि मतदान केन्द्रहरूमा मतदाताको उत्साहजनक सहभागिता देखिएको स्थानीयले बताएका छन्।
पर्सा–१ मा यसपटकको निर्वाचनलाई विशेष चासोका साथ हेरिएको छ भने विभिन्न राजनीतिक दलका उम्मेदवारबीच प्रतिस्पर्धा रहेको छ।
निर्वाचन परिणामले क्षेत्रको राजनीतिक भविष्य निर्धारण गर्ने अपेक्षा गरिएको छ।