चुनाव :

काम गरेर प्रमाणित भइसकेको नेतृत्वलाई मत दिनुहोस्, बहरुपियाको पहिचान गर्नुस : प्रदीप यादव

शुक्रबार, फागुन १५, २०८२

वीरगञ्ज । नेकपा (एमाले) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार प्रदीप यादवले आज शुक्रवार वीरगञ्ज महानगरपालिका वडा नम्बर १५ को लक्ष्मणवा र भेडीयाही टोलमा घरदैलो तथा जनता दर्शन कार्यक्रम सम्पन्न गरेका छन् ।

कार्यक्रमका क्रममा सूर्य चुनाव चिन्हका लागि मत माग्दै यादवले आफ्ना चुनावी एजेन्डाहरू स्थानीयवासीलाई सुनाएका थिए ।

उनले पर्साको समग्र विकास, समृद्धि र जनताको जीवनस्तर उकास्ने स्पष्ट भिजन तथा क्षमता आफूसँग भएको बताए ।

“काम गरेर प्रमाणित भइसकेको नेतृत्वलाई मत दिनुहोस्, बहरुपियाहरूको पहिचान गर्नुहोस् र सूर्य चिन्हमा मतदान गर्नुहोस्,” यादवले घरदैलोका क्रममा आग्रह गरे ।

पूर्व मन्त्री समेत रहेका यादवले आफ्ना प्रतिद्वन्द्वीहरूलाई अराजनीतिक व्यक्तित्व भएको बताउँदै चुनावका बेला मात्र जनताको बिचमा आएर ठूल्ठूला आश्वासन बाँड्नेहरूबाट जनतालाई सचेत रहन आग्रह गरे ।

यादवले पर्सा-१ लाई राम्ररी चिनेको र यहाँका हरेक समस्याबारे आफू पूर्ण जानकार रहेको उल्लेख गर्दै विगतमा दुई पटक सांसद निर्वाचित भएर अधिकांश समस्याहरू समाधान गरेको दाबी समेत गरे ।

“आगामी निर्वाचनमा जितेमा बाँकी रहेका थप समस्याहरू पनि समाधान गर्छु,” यादवले भने ।

यादव दुई पटक सांसद निर्वाचित भइसकेका छन् । उनले जिल्लाका विभिन्न स्थानमा सडक निर्माण, स्कुल तथा अस्पताल भवन निर्माण, मन्दिर, मस्जिद र धर्मशाला निर्माण तथा अन्तिम संस्कारका लागि मसान घाट निर्माण गराएको दाबी गरे ।

खानेपानीको समस्या समाधानमा आफूले विशेष ध्यान दिएको उल्लेख गर्दै उनले भने, “आकाल पर्दा एक साताभित्र ठाउँ–ठाउँमा बोरिङ जडान गरी तत्काल समस्या समाधान गरेँ ।

दीर्घकालीन समाधानका लागि अर्बौँ रुपैयाँका परियोजना ल्याएको छु ।”

त्यस्तै उनले संसद्मा जिल्लावासीको आवाज बन्दै पटक–पटक पर्साका समस्याहरू उठाएको पनि बताए ।

कार्यक्रममा स्थानीयवासीले यादवलाई फूलमाला लगाएर स्वागत गरेका थिए भने जनताले आफ्ना समस्या राखेका थिए । यादवले समस्याहरू तत्काल सम्बोधन गर्ने आश्वासन दिएका छन् ।

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  ११:४३
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय