सोसल मिडिया
हाम्रो बारेमा
वीरगंज। पर्सा क्षेत्र–१ का नेपाली काँग्रेसका उम्मेदवार अनिल रुंगटाले सार्वजनिक गरेको प्रतिबद्धता पत्रप्रति स्थानीय मतदाताले कडा प्रतिक्रिया जनाएका छन्।
उनले क्षेत्रभित्र १ खर्ब रुपैयाँ बराबरको उद्योग भित्र्याउने र प्रदूषित सिरिसिया नदी सफा गर्ने घोषणा गरेपछि मतदाताबीच विश्वास र व्यवहारको प्रश्न उठेको हो।
रुंगटाले औद्योगिक विस्तारमार्फत रोजगारी सिर्जना गर्ने, युवालाई स्वदेशमै अवसर दिने तथा वातावरणीय सुधार गर्ने प्रतिबद्धता जनाएका छन्। तर केही स्थानीयले भने यसलाई “दोहोरो नीति” भन्दै आलोचना गरेका छन्।
जगदम्बा इन्टरप्राइजेज उद्योग निर्माणका क्रममा वीरगञ्ज महानगरपालिका वडा नम्बर–३२ परसवा केराढोका क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई रोजगारी दिने आश्वासन दिइए पनि हालसम्म त्यो प्रतिबद्धता पूरा नभएको स्थानीयवासीले बताएका छन्।
उद्योगका सञ्चालक तथा पर्सा निर्वाचन क्षेत्र नम्बर–१ बाट नेपाली कांग्रेसका उम्मेदवार रुंगटाले उद्योग निर्माणको समयमा “कम्तीमा एक घरबाट एक जनालाई रोजगारी दिइने” आश्वासन दिइएको थियो।
तर उद्योग सञ्चालनमा आइसकेको लामो समय बितिसक्दा पनि परसवा क्षेत्रका स्थानीयले सो अवसर पाउन नसकेको गुनासो गरेका छन्।
परसवाकी स्थानीय महिला उमादेवीले भनिन्, “उद्योग बनाउँदा हामीलाई रोजगारी दिने भनिएको थियो। तर आजसम्म न त हामीलाई काम दिइयो, न त सोधपुछ नै भयो। आश्वासन कागजमै सीमित भयो।”
उनका अनुसार उम्मेदवारकै उद्योगमा भारतीय कामदारको संख्या धेरै रहेको र नेपाली युवा काम नपाएर विदेशिन बाध्य भएको अवस्था छ।
“पहिले आफ्नै उद्योगमा नेपालीलाई रोजगारी दिनुस्, अनि १ खर्बको कुरा गर्नुस्,” एक स्थानीय युवाले प्रतिक्रिया दिए।
उनका अनुसार रोजगारीको नारा आकर्षक भए पनि व्यवहारमा देखिएको अवस्था फरक छ। सिरिसिया नदी सफाइको विषयमा पनि स्थानीयले शंका व्यक्त गरेका छन्।
वर्षौंदेखि औद्योगिक प्रदूषणले प्रभावित नदी सफा गर्ने वाचा यसअघि पनि धेरै पटक सुनिएको तर कार्यान्वयन नभएको उनीहरूको भनाइ छ।
चुनावी माहोल तात्दै जाँदा प्रतिबद्धता पत्रले पर्सा–१ मा तीव्र बहस जन्माएको छ। अब मतदाताले नाराभन्दा परिणाम खोज्ने स्पष्ट संकेत दिएका छन्।