चुनाव :

पर्सामा मदिरा बिक्री बन्दप्रति व्यवसायी संघको आपत्ति, निर्णय पुनर्विचारको माग

शुक्रबार, फागुन १५, २०८२

वीरगंज - पर्सा मदिरा व्यवसायी संघले जिल्ला प्रशासन कार्यालय पर्साले आसन्न प्रतिनिधिसभा निर्वाचवलाई सुरक्षित र भयरहित वातावरणमा सम्पन्न गर्न हालै गरेको मदिरा बिक्री–वितरण बन्द गर्ने निर्णयप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।

प्रशासनले फागुन १५ देखी निर्वाचनको मत परिणाम नआएसम्म मादक पदार्थ विक्री वितरण तथा सेवन गर्न पुर्णरुपमा प्रतिबन्ध लगाएको प्रति संघले एक विज्ञप्ति जारी गर्दै उक्त निर्णयले व्यवसायीहरू प्रत्यक्ष रूपमा प्रभावित भएको उल्लेख गरेको छ।

विज्ञप्तिमा अहिले नै मदिरा व्यवसाय आर्थिक रूपमा कमजोर अवस्थामा रहेको र निर्वाचनको एक साता अगाडी नै अचानक गरिएको बन्दको निर्णयले थप समस्या सिर्जना गरेको बताइएको छ।

व्यवसायीहरूले बैंक तथा सहकारीबाट ऋण लिएर व्यवसाय सञ्चालन गरिरहेको अवस्थामा यस्तो निर्णयले उनीहरूलाई आर्थिक संकटमा धकेल्ने संघको भनाइ छ।

संघका अनुसार राज्यलाई कर तिर्ने प्रमुख क्षेत्रमध्ये मदिरा व्यवसाय पनि एक हो। लामो समयदेखि राजस्वमा महत्वपूर्ण योगदान दिँदै आएको क्षेत्रलाई लक्षित गरी गरिएको निर्णयले व्यवसायीहरू अन्यायमा परेको महसुस गरेका छन्।

विशेष गरी होली जस्तो चाडपर्वको समयमा व्यवसाय राम्रो हुने अपेक्षा राखिएको बेला अचानक बन्दको सूचना आउनुले ठूलो नोक्सानी हुने बताइएको छ।

संघले व्यवसायीहरूको पीडा र वास्तविक अवस्थालाई ध्यानमा राख्दै निर्णय पुनर्विचार गर्न सम्बन्धित निकायसँग माग गरेको छ।

साथै समस्या समाधानका लागि सरोकारवाला पक्षसँग छलफल गरी उपयुक्त निकास निकाल्न आग्रह गरिएको छ।

अन्त्यमा संघले सम्पूर्ण व्यवसायीहरूलाई संयमित र एकताबद्ध भएर आफ्ना हक–अधिकारका लागि उभिन आह्वान गरेको छ।

प्रकाशित मिति: शुक्रबार, फागुन १५, २०८२  ०७:०१
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय