चुनाव :

सर्वोच्चको ‘कारण देखाउ’ आदेशपछि पाण्डेको दाबी बलियो, पर्सा–३ मा चुनावी सरगर्मी बढ्यो

बिहीबार, फागुन १४, २०८२

वीरगंज। नेकपा (एमाले) बाट पर्सा निर्वाचन क्षेत्र नम्बर–३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार रुपेश कुमार पाण्डेयको उम्मेदवारी कायम रहने भएको छ।

सर्वोच्च अदालतका इजलास नम्बर–७ का न्यायाधीश मेघराज पाखरेलले पाण्डेयविरुद्ध दायर उत्प्रेषण मुद्दामा ‘कारण देखाउ’ आदेश जारी गरेपछि उनको उम्मेदवारी खारेज नहुने स्पष्ट भएको हो।

पाण्डेयविरुद्ध सोही क्षेत्रका नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार छोटेलाल प्रसाद यादवले निर्वाचन आयोग कान्तिपथ काठमाडौंलाई समेत विपक्षी बनाउँदै उम्मेदवारी खारेज गर्न माग गरी रिट दायर गरेका थिए।

रिटमा बैंक ऋण नतिरेको विषय उठाउँदै कर्जा सूचना केन्द्रको कालोसूचीसम्बन्धी प्रसंग उल्लेख गरिएको थियो।

यसअघि निर्वाचन आयोगले कर्जा सूचना केन्द्रबाट प्राप्त विवरणका आधारमा पाण्डेसँग स्पष्टीकरण मागेको थियो।

उजुरी परेपछि आयोगले कानुनी प्रक्रिया अघि बढाएको र सोही सन्दर्भमा सर्वोच्च अदालतमा मुद्दा पुगेको जनाइएको छ।

यता एमाले पक्षले भने पाण्डेको बढ्दो जनसमर्थन देखेपछि विपक्षी शक्तिहरूले अनावश्यक दु:ख दिन आयोग र अदालतको ढोका ढकढक्याएको आरोप लगाएको छ।

उम्मेदवारी दर्तापछि ‘कालोसूची’सम्बन्धी हल्ला सामाजिक सञ्जाल र स्थानीय तहमा फैलाइएको दाबी गरिएको छ।

एमाले नेतृत्वले यसलाई राजनीतिक रूपमा चरित्र हत्या गर्ने प्रयासको संज्ञा दिएको छ। उम्मेदवार पाण्डेले बैंकिङ विषयलाई चुनावी हतियार बनाइनु लोकतान्त्रिक अभ्यासको उपहास भएको बताए।

“निर्वाचन आयोग बैंकको लेनदेन हेर्ने निकाय होइन, चुनाव लड्न पाउनु हरेक नागरिकको नैसर्गिक अधिकार हो,” उनले प्रतिक्रिया दिए।

एमाले पर्साका इन्चार्ज प्रभु हजराले पनि विपक्षी दलहरू जनमतबाट पराजयको सम्भावना देखेपछि अदालतको आड लिएको आरोप लगाए।

“जनताको मतबाट हार्ने निश्चित देखेपछि केही शक्तिहरू रिटमार्फत उम्मेदवार हटाउन खोजिरहेका छन्,” उनले भने।

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १६:२१
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय