चुनाव :

पर्सा–२ मा चौरसियाको घरदैलो अभियान तीव्र, विकास र निकासका लागि काँग्रेसलाई मत दिन अपिल

बिहीबार, फागुन १४, २०८२

पर्सा - पर्सा–२ का नेपाली काँग्रेस उम्मेदवार अजय कुमार चौरसियाले आज पर्साको बहुदरमाई नगरपालिकाको वडा नम्बर ४ मा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन्।

घरदैलोका क्रममा उनले स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै क्षेत्रको विकास र देशलाई राजनीतिक निकास दिन नेपाली काँग्रेसलाई मतदान गर्न आग्रह गरेका हुन्।

घरदैलो अभियानमा स्थानीय नेता–कार्यकर्ता तथा समर्थकहरूको उल्लेख्य सहभागिता रहेको थियो। चौरसियाले घरघर पुगेर मतदाताका गुनासा, सुझाव र अपेक्षा सुनेका थिए।

उनले पर्सा–२ लाई शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासमा अघि बढाउने आफ्नो प्रतिबद्धता दोहोर्‍याए।

उनले भने, “पर्साको समग्र विकासका लागि स्थिर सोच र स्पष्ट योजना आवश्यक छ।

त्यसका लागि अनुभवी र जिम्मेवार पार्टी नेपाली काँग्रेसलाई विजयी गराउन जरुरी छ।” उनले क्षेत्रका सडक, खानेपानी, सिँचाइ र युवाका लागि रोजगारी सिर्जना आफ्नो प्राथमिकतामा रहेको बताए।

मतदातासँगको संवादका क्रममा केही स्थानीयवासीले विकास निर्माणका काम सुस्त गतिमा भएको गुनासो गरेका थिए।

त्यसप्रति प्रतिक्रिया दिँदै चौरसियाले आफू निर्वाचित भए जनअपेक्षा अनुसार पारदर्शी र प्रभावकारी काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

चुनावी माहोल तातिँदै जाँदा पर्सा–२ मा उम्मेदवारहरूको घरदैलो अभियान तीव्र बन्दै गएको छ। 

प्रकाशित मिति: बिहीबार, फागुन १४, २०८२  १३:४१
प्रतिक्रिया दिनुहोस्
समाज
विशेष खोज
खेलकुद
राजनीति
अर्थ वाणिज्य
स्वास्थ्य
अन्तराष्ट्रिय