Dashain Banner
Dashain Banner
नेभिगेशन
समाज
आचार संहिता उल्लंघन :

बालबालिकाको प्रयोगले उठायो प्रश्न: पर्सा–१ मा काँग्रेस उम्मेदवार अनिल रुंगटाको प्रचार विवादमा

वीरगंज- पर्सा–१ मा चुनावी माहोल तातिँदै जाँदा नेपाली काँग्रेसका उम्मेदवार अनिल रुंगटाको घरदैलो अभियान विवादमा परेको छ।

सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा उनको घरदैलो प्रचार कार्यक्रममा बालबालिकालाई समेत सहभागी गराइएको देखिएको छ।

उक्त भिडियो सार्वजनिक भएपछि स्थानीय तहमा यस विषयले चर्चा पाएको छ।

स्थानीय बासिन्दाका अनुसार घरदैलो अभियानका क्रममा केही बालबालिकालाई नाराबाजी र प्रचार सामग्री बोकेर हिँडाइएको देखिएको हो।

निर्वाचन नजिकिँदै गर्दा यस्तो गतिविधिले आचारसंहिताको पालना सम्बन्धी प्रश्न उठाएको छ।

निर्वाचन आयोगले निर्वाचन प्रचारप्रसारमा बालबालिकाको प्रयोग गर्नु आचारसंहिता विपरीत रहेको स्पष्ट पारिसकेको छ।

आयोगले बालअधिकारको संरक्षण र स्वच्छ निर्वाचन सुनिश्चित गर्न उम्मेदवार तथा दलहरूलाई सचेत गराउँदै आएको छ।

बालबालिकालाई राजनीतिक गतिविधिमा प्रयोग नगर्न आयोगले पटक–पटक निर्देशन दिँदै आएको जनाइएको छ।

पर्सा क्षेत्र १ का अन्य पार्टीका उम्मेदवारले  निर्वाचन जस्तो संवेदनशील प्रक्रियामा बालबालिकालाई प्रयोग गर्नु उपयुक्त नभएको धारणा राखेका छन्।

चुनावी प्रतिस्पर्धा तीव्र बन्दै जाँदा सबै उम्मेदवारले आचारसंहिताको कडाइका साथ पालना गर्नुपर्ने आवाज उठिरहेको छ।

स्वच्छ, निष्पक्ष र मर्यादित निर्वाचनका लागि सबै राजनीतिक दल र उम्मेदवार जिम्मेवार हुनुपर्ने नागरिक समाजको भनाइ छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्